गौर,११ साउन । रौतहटको सिमावर्ती बजारमा जानका लागि भारतीय सुरक्षाकर्मीले परिचयपत्र अनिवार्य गरेरको छ । सुरक्षाको मध्यनजर राख्दै नेपाल भारत सिमाक्षेत्र भएर नेपाली वा भारतीय नागरिकहरु ओहरदोहर गर्न अनिवार्य रुपमा परिचय पत्र लिएर हिड्नुपर्ने भएको छ ।
नेपाल भारत सीमामा तैनाथ भारतीय सुरक्षाकर्मी (एसएसबी) ले नेपाली र भारतीय नागरिकहरु ओहरदोहर गर्नेलाई अनिवार्य रुपमा आफनो परिचय खुल्ने गरी कागजात हेरेर जान दिइरहेको रौतहटको सिमा क्षेत्रका बासिन्दाले बताएकाछन् ।
पहिला जस्तो सहजै बिना परिचयपत्र भारत जान अहिले भारतीय सुरक्षाकर्मीले रोक लगाएको गौरका स्थानीय व्यापारी जितेन्द्र साहले बताए । उनले भने अहिले परिचयपत्र बोक्नुपर्ने बाध्यात्मक आवस्थाको सृजना भएको उनको भनाइ रहेको छ । पछिल्लो समय भारतीय संचारमाध्यममा चर्चामा रहेकी पाकिस्तानी महिला सिमा हैदर महोत्तरी जिल्लाको भिठामोड नाका हुदै भारत प्रवेश गरेर विहार हुँदै उत्तरप्रदेशको नोयडा पुगे पछि रौतहटको सिमामा तैनाथ भारतीय सशस्त्र सिमा सुरक्षा बल (एसएसबी) ले नाकामा कडाइ गर्दै नागरिकहरुको परिचय पत्र हेरेर मात्रै ओहरदोहर गर्न दिएकाछन् ।
मधेश प्रदेश सहित नेपालको सीमा जोडिएका सबै नाकाहरुमा भारतीय एसएसबीले सिमाक्षेत्रमा आवतजावत गर्ने नेपालीसँग नागरिकता र भारतीयसँग आधारकार्ड खोज्न थालेका छन । पहिचान खुल्ने कागजाता नदेखाउदा उनीहरुले सिमाक्षेत्रमा आवतजावत गर्नमा रोक लगाएका हुन् ।
यस अघि नेपाल भारत सिमाक्षेत्रबाट अर्को देशमा प्रवेश गर्दा यात्रुले कागजात प्रमाण देखाउने व्यवस्था थिएन । “अहिले भारतीय बजार जाँदा सिमानामा रहेका एसएसबीले परिचय खुल्ने प्रमाण मागिरहेका छन ।” दुर्गा भगवतीका स्थानिय पियुष राजले भने “यस अघि कहिले पनि यसरी नागरिकता प्रमाणपत्र चेकजाँच गरिएको थिएन । अहिले निकै कडाई गरिएको छ ।” परिचय खुल्ने प्रमाण नदेखाउनेलाई एसएसबीले सिमा पार गर्न दिएका छैनन । पाकिस्तानी नागरिक सिमा हैदर १३ मे का दिन काठमाण्डौबाट महोत्तरीको भिठामोड हुदै सहज रुपमा भारत प्रवेश गरेपछि अहिले भारतीय अधिकारीहरुले उनको बारेमा गहन छानबिन गरिरहेका छन ।
सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म गौरका डिएसपी सुर्य तिमलसिनाले बिभिन्न देशका नागरिक नेपालको बाटो हुदै भारत जान थालेपछि सिमामा भारतीय सुरक्षाकर्मीले केही कडाइ गर्न थालेको जानकारी दिएकाछन् ।








