चन्द्रपुर,४ भदौ ।
भारत सरकारले प्याजमा तत्काल लागू हुने गरी ४० प्रतिशत निर्यात कर लगाएको छ । भारतको आन्तरिक बजारमा बढ्दो प्याजको मूल्यलाई नियन्त्रणमा राख्नका लागि अर्थ मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
शनिवार सूचना जारी गर्दै भारतको अर्थ मन्त्रालयले उक्त कर तत्काल लागू हुने जनाएको छ । यसबाट घरेलु बजारमा बढ्दो प्याजको मूल्यवृद्धिलाई नियन्त्रणमा राख्न सकिने र आन्तरिक बजारमा सहज आपूर्ति गर्न मद्दत पुग्ने बताइएको छ । जुलाई महिनामा मात्रै भारतमा तरकारी तथा खाद्यान्नको मूल्य १५ महिनायताकै उच्च वृद्धि भएपछि सरकारलाई मूल्य वृद्धि नियन्त्रणका लागि एक्सन लिनुपर्ने दबाबका बिच प्याजको निर्यात कर उच्च बनाइएको हो । भारतीय भान्छामा प्याजको अधिक प्रयोग हुने गर्छ । ‘निर्यात कर बढाइदिँदा भारतीय प्याज पाकिस्तान, चीन र इजिप्टको भन्दा महँगो पर्न जान्छ । यसले भारतबाट निर्यातको सम्भावनालाई घटाउँदै लैजान्छ र स्थानीय बजारमा प्याजको मूल्य घटाउन मद्दत पुग्छ,’ मुम्बईस्थित प्याज निर्यातकर्ता अजित शाहले भने ।
भारतमा जुलाईदेखि अगस्टसम्मको अवधिमा मात्रै प्रमुख बजारहरूमा औसत थोक मूल्यमा करिब २० प्रतिशतले मूल्य वृद्धि भइसकेको छ । खण्डवृष्टिका कारण प्याजको उत्पादन आगामी दिनमा अझ प्रभावित हुने अनुमान गरिएको छ । भारतमा अगस्ट महिनालाई सबैभन्दा सुख्खा महिनाको रूपमा लिइन्छ र धेरै भूभागमा पानी पर्दैन । भारतमा सुख्खा महिनामा प्याज चाँडै कुहिने र नयाँ उत्पादन आउन पनि समय लाग्ने भएकाले भाउ महँगो हुन्छ । स्थानीय बजारमा नै प्याज महँगो हुने हुँदा सरकारले मूल्य नियन्त्रणका लागि उच्च कर लगाउने निर्णय गरेको हो ।
सन् २०२३ को पहिलो ६ महिनामा मात्रै प्याजको निर्यात गत वर्षभन्दा ६३ प्रतिशतले बढी भएको छ । त्यसैले पनि भारत सरकार प्याजको निर्यात घटाउने मुडमा पुगेको हो । गत महिना मात्रै भारतले बासमती बाहेकका अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाइसकेको छ । नेपाल, बङ्गलादेश, मलेसिया, यूनाइटेड अरब इमिरेट्स र श्रीलङ्काका तरकारी बजारहरू भारतीय प्याजमा अधिक मात्रामा निर्भर छन् ।
भारतको यस निर्णयले नेपाल लगायत ती देशहरूमा पनि प्याजको मूल्य तथा आयात प्रभावित हुने छ । एक तरकारी व्यवसायीका अनुसार भारतमा प्याजको निर्यात कर बढ्दा निश्चित रूपमै नेपालमा महँगो हुने बताउँछन् । उनका अनुसार हाल नेपाली बजारमा अधिकांश प्याज भारतबाटै आउँछ ।








