बंकुल,१३ पुस ।
रौतहटको बङ्कुल नाकाबाट सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी मौलाएको छ । सो नाकामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा भन्सार छलीका सामान भित्रने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
पछिल्लो समय आएर बङ्कुल बजारमा नियमित गस्ती गर्नुपर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरी गस्ती गर्न छाडेर पोके तस्करको पछि लाग्न थालेको स्थानीयले बताएका छन् ।
भारतबाट साइकल तथा मोटरसाइकलमा ल्याइने विभिन्न सामानको प्रकृति हेरेर सशस्त्र प्रहरी र नेपाल प्रहरीले ५० रुपैयाँदेखि रु. १०० सम्म लिने गरेको एक स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
सो नाका भएर पछिल्लो समय विभिन्न सामानहरू नेपालभित्रने गरेका छन् । बङ्कुल बजारमा रहेको छोटी भन्सार कार्यालय तत्कालीन माओवादी द्वन्दका बेला हटाइएपछि सो नाका भएर तस्करहरूले ल्याउने सामान को भन्सार नकाटिने भएपछि सशस्त्र र नेपाल प्रहरीले चिया खर्च बापत ५० देखि १०० र त्योभन्दा बढी रकम लिएर छाड्ने गरेको स्थानीय एक व्यापारीले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिएका छन् ।
बङ्कुल नाका भएर दैनिक रूपमा, कपडा, श्रृंगारका सामान, रड, सिमेन्ट, मोटर पाट्र्सका सामान, दैनिक उपभोग्य खाद्य वस्तु र तरकारी निर्वाद रूपमा नेपाल छिर्ने गरेको छ । दैनिक रूपमा भारतको घोडासानबाट हरियो तरकारी रौतहटका बजारमा ल्याएर बिक्री गर्ने गरेका व्यापारी इमतयाज आलमले बंकुल नाकामा बस्ने सशस्त्र प्रहरीले एकपटक तरकारी ल्याउँदा १०० रुपैयाँ लिने गरेको बताएका छन् । उनी जस्ता सयौं जनाले सो नाका भएर मोटरसाइकलमा सामानहरू ल्याउने गरेका छन् । बङ्कुल नाकाबाट भन्सार छली गरेर ल्याइने सामानहरू रौतहटको बंकुल बजार, कटहरिया बजार, विजयपुर बजार, बाराको कोल्बी बजार, लगायतका स्थानमा पु¥याइने गरेको एकजना व्यापारीले बताए ।
बङ्कुल नाकामा जानकै लागि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको गौरमा रहेको ११ नम्बर हेडक्वाटरमा जवानदेखि सयसम्मले राम्रै नजराना बुझाउनुपर्ने समाचार स्रोतले दाबी गरेको छ । प्रहरीका माथिल्लो तहका हाकिमलाई मोटो नजराना बुझाएर बङ्कुल नाकामा पुग्ने सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानदेखि सई सम्मले नाकामा बसेर रकम असुली गर्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
बङ्कुल बजारमा सशस्त्र प्रहरीको बेस क्याम्प नै छोटी भन्सार कार्यालय सञ्चालनका लागि निर्माण गरिएको भवनमा राखिएको छ । बन्द अवस्थामा रहेको भन्सार कार्यालयको भवनमा रहेको सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत जवानदेखि हाकिमसम्मले सीमा पारीबाट आउने साइकल तथा मोटरसाइकल रोकेर चेक जाँचका नाममा रकम असुल्ने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
पछिल्लो समय सशस्त्र प्रहरी र जनपथ प्रहरी बजार र गाउँहरूमा जान छाडेका कारण गाउँघरमा चोरी डकैतीका घटनासमेत बढ्दै जान थालेको भन्दै एकजना व्यापारीले गुनासो गरे । पछिल्लो समय जिल्ला सुरक्षा समितिको निर्णय अनुसार गौर मुख्य भन्सार बाहेकका छोटी भन्सारबाट भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेशमा रोक लगाएको भए पनि तस्करीका सामान बोकेका मोटरसाइकलहरु नाकाबाट निर्वाद रुपमा सञ्चालनमा रहेका छन् ।
बङ्कुल बजारका व्यापारी तथा स्थानीय बासिन्दाले सीमामा रहेका सशस्त्र तथा जनपथ प्रहरीले नियमित रुपमा गाउँ तथा बजारमा गस्ती नगरेका कारण चोरी तथा डकैतीका घटनाहरु दिन प्रतिदिन बढ्दै गएको भन्दै माथिल्लो निकायमा जानकारी गराएको बताएका छन् । २०८१ पुस १३ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।