काठमाडौँ — आगामी फागुनमा प्रतिनिधि सभाको निर्वाचन हुने तय भएसँगै अब तीन तहको निर्वाचन एकै चरणमा नहुने भएको छ।

यसअघिका दुई आम निर्वाचन — २०७४ र २०७९ सालमा प्रतिनिधि सभा तथा प्रदेश सभा एकै साथ भएका थिए। तर, प्रतिनिधि सभा समयअगावै विघटन भएपछि अबको निर्वाचन चक्र परिवर्तन हुने भएको छ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाको निर्वाचन २०८१ साल फागुन २१ गते हुनेछ। तर, प्रदेश सभाको निर्वाचन भने २०८४ सालमा हुने तय भएको छ। त्यसअघि नै स्थानीय तहको निर्वाचन हुनेछ।

प्रदेश सभाको पछिल्लो निर्वाचन २०७९ मंसिर ४ गते भएको थियो। पाँच वर्षे कार्यकाल अनुसार २०८४ मंसिरतिर चुनाव हुने सम्भावना छ। स्थानीय तहको पछिल्लो निर्वाचन २०७९ वैशाख ३० मा भएको थियो। त्यसअनुसार २०८४ को वैशाख अन्तिम साता स्थानीय तहको निर्वाचन हुने अनुमान गरिएको छ।

यस पटकको प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित सरकारको कार्यकाल २०८७ सालसम्म कायम रहनेछ। प्रदेश र स्थानीय तहको निर्वाचन पनि यही संघीय सरकारले गराउनेछ।

यसअघि तीनवटै तहको निर्वाचन एकैचोटि गर्दा संघीय सरकार स्वतः विदा हुने स्थिति बन्थ्यो। अब भने संघीय सरकार कायम रहँदै प्रदेश र स्थानीय तहको चुनाव गराउने संरचना तयार भएको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। प्रतिनिधि सभाबाट वैकल्पिक सरकार बन्न नसक्ने स्थिति भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको हो।

अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति घोषणा गरेका हुन्।

निर्वाचन आयोगका अधिकारीहरूका अनुसार प्रारम्भिक छलफलमा तीनै तहको निर्वाचन एकैचोटि गर्ने विषय उठेपनि प्रतिनिधि सभा विघटनपछि तीन चरणमा निर्वाचन हुने स्पष्ट भएको छ।