काठमाडौं । अविरल वर्षाका कारण कोशी र बागमती प्रदेशका पाँच स्थानमा सडक आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ। नेपाल प्रहरीले शुक्रबार बिहान ७ बजे सार्वजनिक गरेको विवरणअनुसार संखुवासभा र रसुवाका विभिन्न स्थानमा सडक अवरुद्ध भएको हो।

संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

त्यसैगरी बाढीका कारण रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा नेपाल–चीन नाका जोड्ने पुलनजिक सडक अवरुद्ध भएको छ। सोही गाउँपालिकामा पर्ने पासाङ ल्हामु सडकखण्ड पनि पूर्णरुपमा अवरुद्ध भएको प्रहरीको भनाइ छ।

सडक अवरुद्ध भएकाले सम्बन्धित स्थानमा आवतजावत ठप्प भएको छ भने सडक खुलाउन सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।