रौतहट, १६ बैशाख । चन्द्रपुर नगरपालिका वडा नं. ६ ले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित बजेट अन्तर्गत सञ्चालन हुने योजनाहरू समयमै पेश गर्न सरोकारवालाहरूसँग आग्रह गरेको छ। वडा अध्यक्ष सहदेव केसिको हस्ताक्षरमा जारी सूचनामा वडा कार्यालयले एक सूचना जारी गर्दै संघ, प्रदेश, स्थानीय तह तथा अन्य निकायमार्फत वडामा विनियोजित बजेट, योजना तथा निर्माणसम्बन्धी कार्यान्वयनका लागि आवश्यक योजना पत्र मिति २०८३ जेठ १० गतेभित्र अनिवार्य रूपमा पेश गर्न अनुरोध गरेको हो।
वडा कार्यालयका अनुसार तोकिएको समयसीमाभित्र योजना पत्र प्राप्त भएपछि मात्र उपभोक्ता समिति गठन गरिनेछ। निर्धारित म्यादभित्र योजना नआएमा उपभोक्ता समिति गठन नगरिने तथा त्यसबाट योजना कार्यान्वयनमा ढिलाइ वा अवरोध भए सम्बन्धित सरोकारवाला स्वयं जिम्मेवार हुने जनाइएको छ।
त्यसैगरी, वडाले सबै सरोकारवालाहरूलाई आफ्ना योजनाहरू समयमै वडा कार्यालयको इमेल ठेगाना ward6chandrapurmun@gmail.com मा पठाउन आग्रह गरेको छ। आर्थिक वर्षको अन्त्यतिर हतारमा काम गर्दा गुणस्तरीय तथा दिगो विकासमा असर पर्ने भएकाले समयमै प्राविधिक इस्टिमेट र आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ।
वडा कार्यालयले समयमै योजना तयारी र कार्यान्वयनमार्फत नतिजामुखी विकास तथा सुशासनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।