विगत छ महिनादेखि आफूले बेचेको दुधको पैसा नपाएका कारण रौतहटका दुध उत्पादक किसानहरु यतिबेला मारमा परेका छन्। नेपाल सरकारको स्वामित्वमा रहेको हेटौंडा स्थित डिडिसी र विभिन्न निजी डेरीहरुले रौतहटका विभिन्न स्थानबाट किसानहरूको दुध लगे पनि ६ महिनादेखि उनीहरुले पैसा नदीदा किसानहरु मारमा परेका छन्। विगत छ महिनादेखि आफूले बेचेको दूधको पैसा नपाउँदा किसानहरुले विभिन्न समस्या झेल्दै आएका छन्।
यसै सेरोफेरोमा रहेर रौतहट जिल्ला दूध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद अधिकारीसँग हामीले कुराकानी गरेका छौं ।
छ महिनादेखि किसानले दुधको पैसा नपाउँदा कस्ताकस्ता समस्याहरू आइपरेका छन् त ?
छ महिनादेखि किसानहरूले आफूले बेचेको दूधको पैसा नपाउँदा गाईवस्तुलाई ढुटो खुवाउने देखि लिएर बैंकको ब्याज तिर्न र आफ्नो घर खर्च चलाउनै समस्या परिरहेको छ। समयमा आफूले बेचेको दूधको पैसा नपाउँदा हामी किसानहरूले विभिन्न समस्या झेल्दै आएका छौं।
सरकारी स्वामित्वमा रहेको हेटौडा स्थित डिडिसी र विभिन्न प्राइभेट डेरीहरूबाट रौतहटका किसानको कति पैसा भुक्तानी लिन बाँकी छ र ?
हाम्रो रौतहट जिल्लाका किसानहरूले दुध बेचेको पैसा हेटौडामा रहेको सरकारी स्वामित्वको डिडिसीबाट ५ करोड लिनुपर्नेछ। र देशका विभिन्न स्थानमा रहेका निजी डेरीहरुले यहाँबाट लगेको दुधको पैसा ३ करोड भुक्तानी लिन बाँकी छ ।
किसानले दुध बेचेको यत्रो पैसा सरकारी डेरी र प्राइभेट डेरीमा लिनु छ। अनि तपाईहरुले माग्नुभएन त ?
हामीले नमागेको होइन हामीले हरेक महिना किसानले बेचेको दूध पाउनुपर्छ भन्दै आएका छौं र यसभन्दा अगाडि पनि मासिक रूपमा पैसा लिँदै आएका थियौं । तर पछिल्लो समय देशमा देखापरेको आर्थिक संकटको बहाना बनाउँदै सरकारी सरकारी स्वामित्वमा रहेको डिडिसी र विभिन्न निजी डेरीहरुले किसानले बेचेको दुधको पैसा ६ महिनादेखि दिइरहेका छैन ।
अहिले आएर डेरीहरुले समयमा पैसा पनि दिइरहेका छैनन् र दूध पनि किनिरहेका छैनन् यसबाट यहाँ रौतहट जिल्लाका किसानहरु ठूलो समस्यामा परेका छन् यसतर्फ राज्यले समेत ध्यान दिनुपर्ने हो तर दिन सकिरहेको मैले देखेको छैन ।
रौतहट जिल्लामा अहिले दैनिक कति लिटर दूध उत्पादन हुन्छ र बजारमा जान्छ ?
अहिले रौतहट जिल्लामा दैनिक ३० हजार लिटर दुध उत्पादन हुन्छ। र यो दुध डिडिसीले ५००० लिटर लान्छ, प्राइभेट डेरीहरूले १२ हजारको हाराहारीमा दूध लाने गरेका छन् र अन्य दूर चाहिँ रौतहटको स्थानीय बजारमा खपत हुने गरेको छ।
६ महिनादेखि किसानहरूले दुध बेचेको पैसा नपाएको कुरा तपाईं आफैंले बताउनुभयो। अनि यसरी आफूले बेचेको दुधको पैसा नपाउँदा यहाँका किसानहरुलाई कस्तो समस्या परेको छ ?
अहिले समयमा दूधको पैसा नपाउँदा यहाँका व्यवसायिक पशुपालन गर्ने किसानहरू ठूलो समस्यामा परेका छन्। उनीहरूले बैंकबाट ऋण लिएर व्यवसायिक रुपमा पशुपालन गरेका छन्। र बैंकलाई मासिक रुपमा ब्याज तिर्नका लागि समस्या परेको । बैंकका अलावा पशुलाई खुवाउने दाना किन्नसमेत अहिले किसानहरूलाई धौधौ परिरहेको अवस्था छ। उनीहरुले घर चलाउन सकिरहेका छैनन् यस्तो अवस्था हुँदा पनि किसानको कुरा कसैले सुनिरहेको छैन ।
एकातिर राज्यको स्वामित्वमा रहेको हेटौडा डिडिसीले किसानको पैसा दिएको छैन। निजी डेरीहरुले पनि समयमा पैसा दिइरहेका छैनन् समयमा पैसा पनि नदिने र समयमा किसानको दुध पनि उनीहरुले किनेर नलाग्दाखेरि अहिले किसानहरु मारमा परेका छन् किसानहरुलाई दुध फाल्नुपर्ने अवस्था समेत आइरहेको छ ।
अब यसरी नै डेरीहरूले किसानको बक्यौता रकम नतिर्ने हो भने तपाईँहरू जो किसानको नेतृत्व गर्नुहुन्छ अबका दिनमा के गर्नुहुन्छ ?
अब अहिले समयमा किसानले पैसा नपाउँदा किसानलाई दैनिक गुजारा चलाउन समस्या परिरहेको छ। ठूला व्यवसायिक किसानहरुले बैंकको ब्याज तिर्न सक्ने अवस्था रहेको छैन र यसरी नै हामी किसानहरूलाई डेरीले झुलाउँदै लाने दुध पनि लाने पैसा पनि नदिने गर्दै जाने हो भने अब हामीले आन्दोलन गर्नुको विकल्प छैन त्यसकारण अब हामी रौतहटका दूत उत्पादक किसानहरु एकबद्ध भएर आफ्नो दुध बेचेको पैसा लिनका लागि सशक्त रूपमा आन्दोलनमा उत्रनेछौँ। यस विषयमा राज्यका नियमनकारी निकायहरूले पनि तत्काल नियमन गरेर किसानले पाउनुपर्ने दुध बेचेको पैसा तत्काल उनीहरूको हातमा पुर्याउनका लागि पहल कदमी होस् भन्ने मेरो भनाई रहेको छ ।