वृन्दावन,८ जेठ । रौतहटको वृन्दावन नगरपालिकाले सञ्चालनमा ल्याएको चारवटा एम्बुलेन्स चार महिनादेखि ग्यारेजमै अलपत्र परेको छ । सोपालिकाले सामान्य मर्मत नगराउँदा सो एम्बुलेन्स यतिबेला कबाड नै बनेको मेकेनिक बताउँछन् ।
सो पालिकाले सञ्चालनमा ल्याएको चारवटै एम्बुलेन्स ग्यारेजमा अलपत्र परेपछि आम सर्वसाधारण भने मारमा परेका छन् ।
पालिकाले सञ्चालनमा ल्याएको चारवटै एम्बुलेन्स चन्द्रनिगापुर स्थित कार हस्पिटल ग्यारेजमा अलपत्र परेपछि आम सर्वसाधारण मारमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेल धमाधम योजनाको चेक काट्न व्यस्त रहँदा एम्बुलेन्स बनाउने कुनै चासो देखाउन सकेको छैन् ।
सो पालिकाका सबै एम्बुलेन्स ग्यारेजमा अलपत्र परेपछि आम सर्वसाधारण बिरामी पर्दा बाहिरको एम्बुलेन्स चर्को शुल्क तिरेर ल्याउनुपरेको बाध्यता रहेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
नगर प्रमुख बिनोदप्रसाद कुर्मी र प्रशासकीय अधिकृत खिम बहादुर भुजेल चढ्ने गाडी राम्रो हुने र जनताको सेवामा प्रयोग हुने एम्बुलेन्स ग्यारेजमा अलपत्र छोड्नु दुखदायक कुरा रहेको वृन्दावन नगरपालिकाका पूर्व नगरप्रमुख राम स्नेही यादवको भनाइ रहेको छ ।
सवारी साधनमध्ये एम्बुलेन्स अति संवेदनशील भएको हुँदा सवारी साधन बिग्रेको खण्डमा चासोका साथ बनाउनुपर्ने हुन्छ ।
तर वृन्दावन नगरपालिकाको चारवटै एम्बुलेन्स ४ महिनादेखि चन्द्रनिगापुरको कार हस्पिटल ग्यारेजमा थन्किएर राखिएको छ ।
यता ग्यारेजबाट बुझ्दा उधारो काम लिने र भुक्तानी नदिने गरेका कारण सो एम्बुलेन्स भुक्तानी नआएसम्म नबनाउने जनाएको छ ।
वृन्दावन नगरपालिकाले चालु आर्थिक वर्षमा कुनै पनि विद्यालयमा दिवा खाजा नखुवाउँदा समेत भुक्तानी कमिसनमा दिने र एम्बुलेन्स मर्मत गराएको रकमसमेत उधारो राख्ने कार्य निन्दनीय रहेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
एम्बुलेन्स पालिकाभित्र अति आवश्यक रहेको हुँदा सो पालिकाले ग्यारेजमा अलपत्र रहेका चारवटै एम्बुलेन्सलाई तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउनुपर्ने स्थानीय बासिन्दाको माग रहेको छ ।
कमिशन आउने काम प्राथमिकताका साथ गर्ने तर, जनताको सेवाका काममा ढिलाइ गर्ने प्रशासकीय अधिकृत आफुलाई स्वीकार्य नरहेको वृन्दावन नगरपालिकाकी उपप्रमुख संगितादेवी रामको भनाइ रहेको छ ।
लामो समयदेखि ग्यारेजमा अलपत्र रहेको एम्बुलेन्सको विषयमा वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलसँग बुझ्न खोज्दा उनको मोबाइल स्विच अफ रहेको थियो, भने नगरप्रमुखको फोन सम्पर्क हुन सकेन ।