चन्द्रपुर,२२ जेठ ।
रौतहटको वृन्दावन नगरपालिकामा दुई दिनदेखि विवाद चुलिएको छ । नदीजन्य वस्तु निकासको बिषयमा सो पालिकामा विवाद हुन थालेको हो । वृन्दावन नगरपालिका वडा नं–१ बलेरी स्थित बागमती खोलाबाट अमानतमा नदीजन्य वस्तु निकाल्न थालेपछि विवाद चुलिएको छ । नगर प्रमुख विनोदप्रसाद कुर्मीले आर्थिक लाभ लिन आफ्नै नजिक मानिएका र नातेदारहरूलाई अमानतमा बागमती नदीको ठेक्का दिई सो खोलाबाट नदीजन्य वस्तु निकाल्न थालेको पूर्व नगरप्रमुख राम स्नेही यादवले आरोप लगाएका छन् ।
आइतबार बागमती नदीबाट नदीजन्य वस्तु निकाल्न थालेपछि स्थानीयहरु बागमती खोलामा पुगेर विरोध गर्न थालेपछि निकासी केहीबेर रोकिएको थियो । तर, केहीबेरमै नगरप्रमुख कुर्मी बाक्लो प्रहरीको बोलाएर बागमती खोला उत्खनन् गराउन थालेका थिए ।
बागमती तथा नदीमा स्काभेटर जस्ता मसिन प्रयोग गर्ने नियम नहुँदासमेत सो पालिकाले बागमती खोलामा स्काभेटर प्रयोग गरेर टिफरबाट नदीजन्य वस्तु निकाल्न थालेका पूर्व नगरप्रमुख यादवले भनाइ छ ।
असनवा घाटबाट नदीजन्य वस्तु निकाल्न थालेपछि सो स्थानमा बाक्लो प्रहरी प्रशासनको उपस्थितिमा नदि जन्य बस्तु निकासा भइरहेको छ ।
प्रहरीको आडमा बागमती नदिबाट स्काभेटर प्रयोग गरेर सोमबार पनि ब्यापक खोला उत्खनन् भइरहेको हो ।
नदी उत्खनन्का कारण खोलामा दुइदिन देखि बागमती खोलामा अवस्था तनाव ग्रस्त बनेको छ ।
स्थानीयले बागमती खोला उत्खनन नगर्न पटक–पटक आग्रह गरेपनि नगरप्रमुखले प्रहरी परिचालन गराएर नदि जन्यबस्तु ननिकाल्ने गरेको वृन्दावन नगरपालिका वडा नं–१ का पुर्ववडाअध्यक्ष सुबोध पटेलले बताए ।
एकिकृत समाजवादी पार्टीबाट निर्वाचित नगरप्रमुख कुर्मी सोमबाट बागमती खोलामा पिकनिक मनाउने नाममा आफ्नो करिब डेढ सय कार्यकर्ता खोलामा बोलाएर खोला उत्खनन् गराइरहेको स्थानीय बासिन्दा मुकेश यादवबको भनाइ रहेको छ । नदि उत्खनन् बन्द गर्ने समयमा पालिकाले उत्खनन् गर्न थालेपछि स्थानियले विरोध जनाउन थालेको छ ।
सो खोलाबाट नदीजन्य वस्तु निकाल्न थालेपछि रमौली,हरैया, समनपुर लगायतका बस्ती जोखिममा पर्ने स्थानीय बासिन्दाको भनाइ छ । यस विषयमा नगरप्रमुख विनोदप्रसाद कुर्मीसँग बुझ्न खोज्दा उहाँसँग कुरा हुन सकेन ।
यसअघि पनि सो पालिकामा नदीजन्य वस्तु निकाल्ने विषयमा ठूलो विवाद भएको थियो । अमानतमा रमौली घाटबाट नदीजन्य वस्तु निकाल्न थालेपछि गत वर्ष पनि विवाद भएको थियो । गत वर्षको विवाद उग्र रुप लिएपछि सो पालिकाका दर्जनौ आम सर्वसाधारण तथा दुइ पक्षका कार्यकर्ताहरु घाइते भएका थिए ।