गौर,२९ जेठ । जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय गौर रौतहटका हाकिमले बिना कमिसन लिइ कामै नगर्ने गरेको आरोप लागेको छ ।
सिचाइ विकास डिभिजन कार्यालय गौर रौतहटका कार्यालय प्रमुख अरूणलाल कर्ण, योजना प्रमुख र इन्जिनियरले १० देखि २० प्रतिशतसम्म कमिसन लिएर योजनाका चिठिहरु धमाधम बाडिरहेको स्थानीयहरुको आरोप छ । कमिसन दिनेलाई मात्र चिठी दिने गरेको र कमिसन नदिनेलाइ कार्यालय प्रमुख कर्णले विभिन्न बहाना बनाएर आल्टाल गर्ने गरेको स्रोतले जनाएको छ । कार्यालय प्रमुख कर्ण लामोसमय देखि कार्यालयमा नबसि कार्यालय भन्दा ४२ किलोमीटर पर चन्द्रनिगाहपुरमा बसेर खुल्याम कमिसन लिएर योजना बेच्ने काम गर्दै आएको व्यापक जनगुनासो रहेको छ् । कार्यालयमा कमिसन लिन सहज नहुने अवस्था देखेर कार्यालय प्रमुख कर्णले कार्यालय भन्दा बाहिर बसेर कमिसनमा लिप्त रहेको बताइएको छ । कमिशन र सेटिङ्गको भरमा मात्र काम गर्ने जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय गौरका कर्मचारीहरुको रबैयाले रौतहटबासी आजित भइसकेका छन ।
जसले कमिशन दिदैनन उसलाई चिठी दिन आनाकानी गर्ने गरिएको र कार्यालय प्रमुख कर्णले कार्यालयमा नआई सेटिङ्गमा फाईलहरू बाहिरै मंगाएर तोक लगाउने गरेको स्रोतको दाबी छ । कार्यालय प्रमुख, इन्जिनियर, योजना प्रमुख सबै जना कार्यालयमा नबस्ने गरेको कारण विभिन्न कामले कार्यालय जाने सेवाग्राही रित्तै हाथ घर फर्किरहेका छन ।उनिहरु कार्यालयमा नबस्दा आफुहरुको कामकाज नराम्ररी प्रभावित भइरहेको सेवाग्राहीहरुको गुनासो छ । उनिहरु कहिलेकाहीँ मात्र कार्यालय आउने गरेको र प्राय चपुरमा नै बसेर सेटिङ्हको भरमा काम गर्ने गरेका कारण सेवाग्राहीहरु अनावश्यक दुख भोग्न बाध्य छन । कार्यालय प्रमुख कर्ण सहितका कर्मचारीहरुको गैरजिम्मेवारीपुर्ण रबैयाको विरुद्ध स्थानीयहरु कार्यालयमा ताल्चा लगाइ आन्दोलन गर्ने तयारी गरेका छन । यस सम्बन्धमा सत्य तथ्य बुझ्न कार्यालय प्रमुख कर्णलाई फोन गर्दा उनि संग सम्पर्क हुन सकेन ।
यसैबिच जनता समाजवादी पार्टी नेपालका नेता एवं मधेश प्रदेशका पुर्व कृषि राज्य मन्त्री योगेन्द्र यादवले कुनै पनि व्यक्तीसंग कमिसन नलिन कार्यालय प्रमुख कर्ण सहितका कर्मचारीलाई चेतावनी दिएका छन ।
पुर्व राज्य मन्त्री यादवले यश कार्यालयका कर्मचारीहरु कमिसन लिएर योजना खरिद बिक्रि गर्ने गरेको आरोप लगाउदै अब देखि त्यस्तो नगर्न सुझाएका हुन । अबदेखि कसैसँग कमिसन लिएको गुनासो आए त्यस्ता कर्मचारीलाई जन कार्यवाही गर्ने नेता यादवले चेतावनी दिए । साथै उनले प्रत्येक दिन कार्यालयमा बसेर जनताको काम गर्न पनि कार्यालय प्रमुख कर्णलाई सुझाव दिए । नियमित कार्यालयमा नबस्दा जनताको कामकाज प्रवाबित हुनुका साथै आम जन्ता अनावश्यक दुख भोग्न बाध्य रहेकोले जन्तालाइ कुनै प्रकारको दुख नदिन नेता यादवले कार्यालय प्रमुख कर्णलाई ध्यानाकर्षण गराएका छन ।