अशोक पहाडी
रौतहट, ४ असार । समयमा बिद्युत महसुल नतिर्ने रौतहटका सामुदायिक विद्यालयको लाईन काटिएको छ । विद्युत महसुल नतिर्ने रौतहटका तीन दर्जन बढी विद्यालयको लाइन नेपाल विद्युत प्राधिकरणले काटेको हो । नेपाल विद्युत प्राधिकरण चन्द्रनिगापुर शाखा अन्तर्गत पर्ने विभिन्न नगरपालिकामा रहेका सामुदायिक विद्यालयको लाइन काटिएको हो । पटक–पटक ताकेता गर्दा समेत विद्युत महसुल नतिर्ने रौतहटको चन्द्रपुर, गुजारा, र वृन्दावन नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुको लाइन काटिएको हो ।
विद्यालयको नाममा जडान गरिएका मिटरहरुमा विद्युत महसुल धेरै उठेको र पटक–पटक तिर्नका लागि ताकेता गर्दा समेत नतिरेका कारण आफूहरुले बाध्य भएर विद्यालयको लाइन काटेको नेपाल विद्युत प्राधिकरण चन्द्रनिगापुर शाखाका प्रमुख धीरेन्द्र यादवले बताए ।
नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाले चन्द्रपुर नगरपालिकामा रहेको दुर्गा माध्यमिक विद्यालय ठाडाटोल, रैया टोल माध्यमिक विद्यालय चन्द्रपुर २, कृष्ण माध्यमिक विद्यालय बालचनपुर, कंकाली माध्यमिक विद्यालय जङ्गलसैया, बतहु माध्यमिक विद्यालय हरशाह, लगायतका ३० वटा सामुदायिक विद्यालयको विद्युत लाइन काटिएको हो । नेपाल विद्युत प्राधिकरण चन्द्रनिगापुर शाखाले सामुदायिक विद्यालयहरुको लाइन काटेपछि ती विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु चर्को गर्मीको मार खेप्न बाध्य भएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापकहरुले विद्युत महसुल तिर्ने तर्फ ध्यान नदिएका कारण विद्यालयको लाइन काटिएको हो । विद्यालयको लाइन काटिएपछि विद्यार्थीहरु बिना पङ्खा अध्ययन गर्न बाध्य भएका छन् । ४० देखि ४३ डिग्री गर्मीको बेला विद्यालयको लाइन काटिएपछि आफूहरु गर्मीमा कक्षाकोठामा बसेर पढ्न बाध्य भएको बालचनपुरका विद्यार्थी हरिकृष्ण चौधरीको भनाइ रहेको छ ।
समयमा व्यवस्थापन समिति र प्रधानाध्यापकहरुले विद्युत महसुल तिर्न ध्यान नदिएका कारण विद्युत प्राधिकरणले बाध्य भएर सामुदायिक विद्यालयको विद्युतको लाइन काट्नु परेको कार्यालय प्रमुख यादवको भनाइ रहेको छ ।
जिल्लाको चन्द्रपुर नगरपालिका वृन्दावन नगरपालिका र गुजारा नगरपालिकाका ३० वटा बढी सामुदायिक विद्यालयको विद्युत लाइन काटिएको नेपाल विद्युत प्राधिकरण चन्द्रनिगापुर शाखाले जानकारी दिएको छ ।
रौतहटका अधिकांश सामुदायिक विद्यालयहरुले विद्यालयमा जोडेको विद्युतको महसुल नतिरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । महिना महिनामा तिर्नुपर्ने विद्युत महसुल वर्षौंसम्म सामुदायिक विद्यालयहरुले नतिरेका कारण प्राधिकरणले बाध्य भएर लाइन काटेको हो ।