चन्द्रपुर,६ साउन । जिल्लाको वृन्दावन नगरपालिकामा विभिन्न शीर्षकमा व्यापक रुपमा आर्थिक अनियमितता भएको समाचारहरू सार्वजनिक भइरहेका बेला एकजना करारका कर्मचारीलाई जिन्सी शाखा प्रमुखको जिम्मेवारी दिएपछि सो नगरपालिकामा खैलाबैला मचिएको छ ।
वृन्दावन नगरपालिकाका मेयर विनोद प्रसाद कुर्मीको नातामा नाती पर्ने एकजनालाई मेयरले जिन्सी शाखा प्रमुख बनाएपछि सो नगरपालिकामा खैला बैला मचिएको स्थानीयले बताएका छन् । मेयर पटेल मेयरमा निर्वाचित भएपछि उनका नातामा नाती पर्ने राजन पटेललाई करारमा नियुक्ति दिएको थियो । पछिल्लो समय आएर उनै राजनलाई मेयर पटेलले जिन्सी शाखा प्रमुख बनाएका हुन् ।
यो नियुक्ति स्वत स्थानीय निकाय सञ्चालन ऐन विपरीत भएको स्वयं नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले बताएका छन् । मेकानिकल इन्जिनियरिङ पढेका राजन पटेललाई वृन्दावन नगरपालिकाको जिन्सी शाखा प्रमुख बनाइएको हो । राजन पटेललाई वृन्दावन नगरपालिकाको जिन्सी शाखा प्रमुख बनाएको भन्दै मेयरबाहेकका अन्य जनप्रतिनिधिहरुले त्यसको चर्को विरोध गरेको भए पनि मेयरको कानमा बतास नलागेको एक वडा अध्यक्षले जानकारी दिएका छन् ।
वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलले स्थानीय सरकार सञ्चालन ऐन अनुसार राजन पटेललाई जिन्सी शाखा प्रमुख बनाउन नमिल्ने भएपनि जबरजस्ती बनाइएको र आफ्नो त्यहाँ केही पनि नचलेको जानकारी दिएका छन् ।
सो विषयमा आफूले मेयरलाई कन्भिन्स गरेर राजन पटेललाई जिन्सी शाखाबाट अन्यत्र पठाउने तयारी गरिरहेको बताएका छन् ।
वृन्दावन नगरपालिकामा बिनोद प्रसाद कुर्मीले मेयर पद जितेपछि सो नगरपालिका पछिल्लो २ वर्ष निरन्तर रुपमा विवादमा रहिआएको छ ।
गत वर्ष नगरसभा गर्नका लागि जनप्रतिनिधिले व्यवस्था गरेपछि नगर प्रमुख कुर्मीले चन्द्रनिगापुरमा रहेको नमन ट्रेडर्सबाट १५ हजारका दरले मोबाइल खरिद गरेर निर्वाचित सबै वडा सदस्यदेखि कार्यपालिका सदस्यलाई वितरण गरेर नगरसभा सम्पन्न भएको कागजमा हस्ताक्षर गर्न लगाएका थिए ।
नमन ट्रेडर्स चन्द्रनिगापुरले १५००० पर्ने सो मोबाइलको ९० हजारका दरले बिल बनाएर वृन्दावन नगरपालिकाबाट भुक्तानी लिएको थियो ।
सो नगरपालिकामा विभिन्न काम गरेका व्यावसायिक फर्महरूले कमिसन नबुझाएको भन्दै गएको आर्थिक वर्षको अन्त्यमा चेक समेत नदिएपछि कयौँ व्यापारिक फर्महरू निराश बनेका छन् ।
पछिल्लो समय आएर वृन्दावन नगरपालिकाका विभिन्न विवादको घेरामा रहँदै आएको छ । निर्वाचित जनप्रतिनिधिहरूले मेयरले गर्ने गरेको गतिविधिको आलोचना गर्दै आएका छन् ।
गएको असार महिनामा नदीजन्य वस्तु उत्खननको विषयलाई लिएर मेयर पक्ष र अन्य पक्षबीच कुटाकुटको अवस्था आएको थियो । २०८१ साउन ६ गतेको तराई एक्सप्रेसमा प्रकाशित समाचार