जिल्लाको सबैभन्दा ठूलो र व्यस्त चन्द्रपुर नगरपालिकाले आफ्नो नगरभित्र रहेका सार्वजनिक सम्पत्तिहरूको संरक्षण गर्नेतर्फ कुनै चासो देखाएको छैन । पछिल्लो समय चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानमा रहेका सार्वजनिक तथा प्रति जमिनमा सुकुम्बासीका नाममा बाहिरी जिल्लाबाट मानिसहरू ल्याएर घर तथा टहरा बनाएर बस्ती बसाल्ने काम भइरहेको छ । यसरी सुकुम्बासीका नाममा बाहिरी जिल्लाबाट ल्याएर मानिसको समूहलाई बसालेको विषयमा विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जालमा टिका टिप्पणी भइरहँदा समेत चन्द्रपुर नगरपालिकाको ध्यानाकर्षण हुन सकेको छैन । पछिल्लो समय चन्द्रपुर नगरपालिका वडा नम्बर ५ स्थित चाँदी पुलसँगै रहेको चाँदीको ड्याममा एक समूहले घर तथा टहरा बनाएर ड्याम नै कब्जा गर्ने काम भएको छ । कुनै अमुक राजनैतिक दलको आडमा यसरी बाहिरी जिल्लाबाट मानिसहरूलाई ल्याएर सार्वजनिक ड्याममा घर टहरा बनाएर राख्ने काम भइरहेको पाइएको छ । यसरी सार्वजनिक ड्याम कब्जा गरेर घर तथा टहरा बनाई बसेका कारण विभिन्न समस्याहरु उत्पन्न हुन्छ भन्ने विषयमा चन्द्रपुर नगरपालिकाले काम ठाडो नपारेका कारण सार्वजनिक जग्गाको अतिक्रमण तथा कब्जा हुने क्रम रोकिन नसकेको हो ।
सुकुम्बासीका नाममा बारा जिल्लाबाट ल्याइएका दर्जनौंले चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा रहेको चाँदी पुल सँगैको चाँदे खोलाको ड्याममा घर टहरा बनाएर बसोबास नै सुरु गरेका छन् । तर यस्तो गम्भीर विषयमा चन्द्रपुर नगरपालिकाले कुनै चासो नदिएको स्थानीय बासिन्दाहरुले गुनासो गर्दै आएका छन् । चाँदी खोलाको ड्याम मात्र नभएर चन्द्रपुर नगरपालिकाका विभिन्न वडाहरूमा रहेका प्रति तथा खाली जमिनहरू सुकुम्बासीका नाममा अतिक्रमण गरेर घर टहरा बनाउने काम तीव्र रुपमा बढ्दै गएको भएपनि त्यसतर्फ जनप्रतिनिधिले खासै ध्यान दिन सकेका छैनन् ।
अहिले देख्नका लागि सो विषय सामान्य भएपनि कालान्तरमा गएर यसले ठूलो समस्या निम्त्याउने भएको भन्दै स्थानीयहरूले त्यस्ता बस्तीहरु खाली गर्न नगरपालिकासँग अनुरोध गर्दै आएका छन् ।
केही वर्ष पहिलासम्म सानो सङ्ख्यामा फाट्टफुट्ट एक दुई जनाले बागमती सिँचाइको नहरको ड्याममा घर बनाएकोमा पछिल्लो समय आएर सयौंको संख्यामा सो स्थानमा घर बनिसकेका छन् । ती घर टहरा हटाउनका लागि बागमती सिँचाइलाई यतिबेला समस्या भएको छ । सुकुम्बासीका नाममा नहरको ड्याममा घर बनाएर बसेकाहरूका कारण बागमती सिँचाइ मात्र नभएर सो नहरको माया खेत भएका स्थानीय समेत मारमा परेका छन् । नहरको छेउमा रहेको आफ्नै खेतमा जानका लागि पनि यतिबेला नहर अतिक्रमण गरेर बसेकाहरूको अनुमति लिनुपर्ने बाध्यता जग्गा धनीहरूलाई आइपरेको छ । भोट बिग्रने डरले राजनैतिक दलहरूले यसरी सुकुम्बासीका नाममा खाली तथा प्रति जमिन मा घर टहरा बनाउनेहरूलाई हटाउन नसकेका हुन् । चन्द्रपुर नगरपालिकाले यसरी अतिक्रमण गरेर बसेको बस्तीहरूलाई तत्काल खाली नगरेको खण्डमा भोलि यसले ठूलो विकराल रूप लिन सक्नेछ । त्यसकारण समेत चन्द्रपुर नगरपालिकाले यसरी बस्ती बसाल्नेलाई कारबाही गर्नुपर्ने र बस्ती तत्काल हटाउनुपर्ने भएको भएपनि कानमा तेल हालेर बसेको पाइन्छ । यस्तो विषयमा चन्द्रपुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरूले बेलैमा ध्यान नदिए यसले भोलि गएर समाजलाई नै विकराल असर पार्ने सम्भावना बढ्दै गएको छ । सुकुम्बासीका नाममा चाँदेको ड्याममा आएर बसोबास गरेका मुस्लिमहरूका कारण भोलि उनीहरूको जनसङ्ख्याले धान्न नसक्दा ड्यामको वरपर रहेका नम्बरी आबादी जमिनवालाहरूलाई समेत समस्या पर्ने देखिन्छ । यस्तो विषयमा नगरपालिकाले बेलैमा सोचेर बेलैमा कदम नचालेको खण्डमा भोलि यसले साम्प्रदायिक विखण्डन समेत ननिम्त्याउला भन्न सकिन्न । २०८१ साउन १७ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित सम्पादकीय ।