बलेरी,३ कार्तिक । रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर १ बलेरी क्षेत्रमा जङ्गली हात्तीको आतंकले स्थानीय बासिन्दाहरू त्रसित बनेका छन् । गत बुधबारदेखि दैनिक रूपमा साँझ पर्ने बित्तिकै गाउँ नजिक आउने हात्ती समूहले किसानको धानबालीमा क्षति पु¥याउन थालेको हो । यसले गर्दा विशेष गरी जङ्गल छेउका किसानहरू गहिरो चिन्तामा परेका छन् ।
स्थानीय बासिन्दा सुरेन्द्र पटेलका अनुसार श्री भगवान् ठाकुर, ठाकुर राउतसहित दर्जनौं किसानका खेतमा लगाइएको धान जङ्गली हात्तीले नष्ट गरेको छ । किसानहरूले मेहनतका साथ लगाएको बाली एकैपलमा नष्ट गर्दा उनीहरू मानसिक रूपमा निकै प्रभावित बनेका छन् । धानबालीमा भएको क्षतिका कारण अब उनीहरूको आर्थिक अवस्थामा पनि असर पर्नेछ । जङ्गली हात्तीका कारण सर्वसाधारण रातभरि जाग्रम गर्न बाध्य भएका छन् ।
ठुलो समूहमा आएर तीन दिनदेखि आतंक मचाइरहेको हात्तीले जङ्गल छेउका स्थानीयलाई सुत्न नदिएको र उनीहरू लगातार त्रासमा बसिरहेको पटेलले जानकारी दिए । विशेष गरी बलेरीमा रहेको तमाङ बस्तीका बासिन्दाहरू पनि रातभरि सतर्कता अपनाउँदै बस्न बाध्य छन् । स्थानीय बासिन्दाहरूले डिभिजन वन कार्यालय रौतहटलाई हात्ती नियन्त्रण गर्न तत्काल कदम चाल्न आग्रह गरेका छन् ।
हात्तीलाई यथाशीघ्र घना जङ्गलमा फर्काउनुपर्ने माग उनीहरूको छ, ताकि मानवीय क्षति हुन नपाओस् । हात्तीले अझै पनि आतंक मचाउँदै गएमा जनधनको क्षति हुने सम्भावना बढेकोले स्थानीयले तुरुन्तै वन कार्यालयले यस विषयमा पहल गर्नुपर्ने बताइरहेका छन् । डिभिजन वन कार्यालय रौतहटले हात्तीलाई नियन्त्रणमा ल्याउन केहि प्रयास थालेको छ, तर समस्या समाधानका लागि तत्काल ठोस कदम आवश्यक देखिएको छ ।