चन्द्रपुर,२० मंसिर ।
श्रीआधारभूत प्राथमिक विद्यालयका प्रधानाध्यापक किर्ते गरेको आरोपमा पक्राउ परेका छन् । चन्द्रपुर नगरपालिकाको लेटरप्याड र नगरप्रमुखको दस्तखत किर्ते गरी राष्ट्रिय वाणिज्य बैंकबाट भवन निर्माणको रकम निकालेको आरोपमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनलाई पक्राउ गरेको हो ।
चन्द्रपुर नगरपालिका–५ राजपैडास्थित श्रीआधारभूत प्राथमिक विद्यालयको चार कोठे भवन निर्माणका लागि आएको रकममध्ये २० लाख रुपैयाँ प्रधानाध्यापक किशोरी चौधरीले नगरको लेटरप्याट, छाप, चलानी नम्बर र हस्ताक्षर किर्ते गरेको साम्बन्धमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयले सोमबार उनलाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार चन्द्रपुर–५ स्थित चाँदी पुल नजिकबाट उनलाई पक्रेर हिरासतमा लिइएको छ । उनलाई मंगलबार अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।
प्रधानाध्यापकले किर्ते गरेको भनिएको सबै कागजात प्रहरीले पहिले नै झिकाई अनुसन्धान थालेको थियो । एक साताअघि जिल्ला अदालतबाट चौधरीका नाममा पक्राउ आदेश लिएको हो । आफूविरुद्ध पक्राउ आदेश आएको थाहा पाएपछि चौधरी फरार भएका थिए ।
चार कोठे विद्यालय भवन निर्माणका लागि राष्ट्रिय योजना आयोगले विशेष अनुदानको रूपमा नगरपालिकालाई ५० लाख रुपैयाँ दिएको थियो । निर्माणको कामको भुक्तानी विद्यालयबाट हुने गरी नगरपालिकाले व्यवस्था मिलाएको थियो ।
प्रधानाध्यापकले रकम हिनामिना गर्ने आशंकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बैंकलाई पत्र पठाइ सबै रकम रोक्का राखेका थिए । उक्त भवन निर्माणको ठेक्का चन्द्रपुर–१ स्थित ब्रह्मबाबा कन्स्ट्रक्सनले लिएको थियो । उसले ०८० असार २० गते सम्झौता गरी निर्माण कार्य सुरु गरेको थियो । गएको असारको पहिलो साता निर्माणको काम सम्पन्न भइसकेको छ । भवन निर्माणको रकम निर्माण व्यवसायीलाई भुक्तानी गर्नुको बदला प्रधानाध्यापक चौधरीले ०८० पुस १८ गते २० लाख निकालेर निजी प्रयोजनमा खर्च गरेको नगरपालिकाले फेला पारेको छ । निर्माण कार्यको रनिङ बिलको रकम दुईपटक भुक्तानी गर्दा कट्टा भएको मूल्य अभिवृद्धि कर ३ लाख ३८ हजार ४ सय ७३ रुपैयाँसमेत आन्तरिक राजस्व कार्यालयमा जम्मा नगरी चौधरीले अपचलन गरेको चन्द्रपुर नगरपालिकाले जनाएको छ ।प्रधानाध्यापक चौधरीले प्राविधिक जाँच, बिल भर्पाईबिना नै २० लाख रुपैयाँ निकालेर हिनामिना गरेको हुनाले अनुसन्धान र कारबाहीका लागि प्रहरीलाई लेखी पठाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बताए । प्रधानाध्यापक चौधरीले नगरपालिकाले नै फुकुवा गरेपछि आफूले रकम निकालेको दाबी गर्दै आएका छन् ।