चन्द्रपुर,२० मंसिर ।
सवारी दुर्घटना गरेर भाग्ने र प्रहरीले पक्राउ गरेपछि पीडित र पीडक मिल्न थालेपछि प्रहरीले नयाँ तरिका अपनाउन थालेको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर क्षेत्रमा दैनिक जसो सवारी दुर्घटना हुने र सवारीचालक भाग्ने, प्रहरीले भागेका सवारी चालकलाई पक्राउ गरेर ल्याउने त्यसपछि पीडित र पीडक मिल्ने क्रम बढ्दै जान थालेपछि प्रहरीले त्यस्ता भाग्ने सवारीचालकलाई पक्राउ गरेर धमाधम मुद्दा चलाउने भएको हो । सवारी दुर्घटना गरेर भागेका सवारीचालकलाई पक्राउ नगरे पीडितहरू इलाका प्रहरी कार्यालयमा आएर धर्ना दिने र प्रहरीले पीडालाई पक्राउ गरेर ल्याएपछि आर्थिक प्रलोभनमा मिलापत्र हुन थालेपछि प्रहरीले यस्तो उपाय अपनाएको हो ।
यसरी दुर्घटना गरेर भाग्नेहरूको खोजीमा प्रहरीको समय बर्बाद भएको भन्दै इलाका प्रहरी कार्यालयले अबका दिनमा सवारी दुर्घटना गरेर भाग्ने सवारी चालकलाई खोजेर फेला पारेर ल्याउन साथ मुद्दा चलाउने निर्णय गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले जानकारी दिएका छन् ।
गएको मङ्सिर १५ गतेका दिन चन्द्रनिगापुर गौर सडक खण्डमा एउटा मोटरसाइकललाई ठक्कर दिएर भागेका ट्याम्पु चालकलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेर मुद्दा चलाएको छ ।
वृन्दावन नगरपालिका वडा नम्बर १ बस्ने अमर कुमार सहनीले चलाइरहेको अटोको ठक्करबाट एकजना मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । मोटरसाइकललाई ठक्कर दिएर फरार रहेका टेम्पो चालक सहनीलाई प्रहरीले पक्राउ गरी म्याद थप गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईको भनाइ रहेको छ ।
कटहरिया नगरपालिका वडा नं.१ को वडा सचिव बर्ष ३१ को संजय प्रसाद साह तेलीले आफ्नै कार्यालयको ना १ ब २१६८ नम्बरको मोटरसाईकल हाकी चलाई डुमरियाबाट चन्द्रनिगाहपुर तर्फ जादै गरेको अवस्थामा चन्द्रनिगाहपुरबाट दक्षिण तर्फ मधेश प्रदेश ०१–००१ स ४३४ नम्बरको अटो गाडी जिल्ला रौतहट बृन्दवान न.पा. वडा नं.१ बस्ने जयराम सहनीको छोरा बर्ष २५ को अमर कुमार सहनीले तिब्र गतिमा चलाई जादै गर्दा दुर्घटना भएको थियो ।
पक्राउ परेका टेम्पु चालकलाई म्याद थप गरेर मुद्धा चलाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।