रौतहट,१५ पुस । बुझौँ मधेश घुमौ मधेस भन्ने स्लोगानसहित रौतहटको चन्द्रनिगाहपुरमा अन्तरक्रिया तथा अवलोकन कार्यक्रम सम्पन्न भएको छ ।
होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशको आयोजनामा आइतबार रौतहटको चन्द्रनिगाहपुरमा सो कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया तथा अवलोकन कार्यक्रममा मधेस प्रदेशका पर्यटन तथा उद्योगमन्त्री सरोकारवाला निकायका प्रमुखहरू तथा रौतहटका होटल व्यवसायीहरूको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।
मधेस प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री सकिल अलि मियाको प्रमुख आतिथ्यतामा चन्द्रनिगाहपुरमा रहेको होटलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
होटल तथा पर्यटन व्यवसायी महासङ्घका मधेस प्रदेश अध्यक्ष हिरालाल गौतमको सभा अध्यक्षतामा भएको सो कार्यक्रममा होटल तथा पर्यटन व्यवसाय सङ्घ रौतहटका अध्यक्ष शिवराम राउतले स्वागत मन्तव्य राखेका थिए ।
रौतहट क्षेत्र नम्बर ४ प्रदेश क का सांसद युवराज भट्टराई समिरले मधेस प्रदेशमा रहेका पर्यटकीय स्थलको उचित प्रचारप्रसार तथा संरक्षण प्रवर्द्धन गरेर त्यसबाट स्थानीयको आय आर्जन गर्न सकिने कुरामा जोड दिएका थिए ।
त्यस्तै मधेस प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मियाले आफूहरूको मन्त्रालयले मधेस प्रदेशका पर्यटकीय क्षेत्रहरूको उचित संरक्षण र प्रवर्द्धन गरेर आन्तरिक तथा वाय पर्यटकहरु भित्र्याउनका लागि सक्दो प्रयास गर्ने बताएका थिए । गरुडा नगरपालिकाका नगरप्रमुख कण्ठमणि जायसवाल ,रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कार्की लगायतले आआफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष संजय कार्कीले रौतहट जिल्लामा क्रियाशील रहेका सञ्चारकर्मीहरूको योगदानकै कारण रौतहटका पर्यटकीय स्थलहरूमा वाय तथा आन्तरिक पर्यटकहरु आउने गरेको बताएका थिए । नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष कार्कीले सञ्चारकर्मीहरूकै कारण रौतहट जिल्लाको नुनथर, धामी पार्क, जंगे झरना लगायतका पर्यटकीय स्थलहरू चर्चामा आएको दाबी गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले रौतहट जिल्लामा रहेका पर्यटकीय क्षेत्रहरूको उचित प्रवर्धन र समवर्धनमा सम्बन्धित निकायले वास्ता नगरेका कारण ति क्षेत्रहरू पछाडि परेको बताएका थिए । सो कार्यक्रममा सहभागीहरूलाई रौतहट जिल्लाका पर्यटकीय क्षेत्रहरूको भ्रमणसमेत गराइएको आयोजक रौतहट होटल तथा पर्यटन व्यवसाय सङ्घले जानकारी दिएको छ ।








