रौतहट, ६ माघ ÷ नेपाल सरकारले पौष १४ गते जारी गरेको सहकारी सम्बन्धि अध्यादेश र पौष २९ गते राष्ट्र बैंकद्वारा सहकारीलाई नियमन गर्न तर्जुमा गरिएको प्रस्तावित मस्यौदामाका केही दफाहरुमा रौतहटका सहकारीकर्मीहरुले आपत्ती जनाएका छन् । रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामाको सम्पन्न अन्र्तक्रिया कार्यक्रममा सहभागी सहकारीकर्मीहरुले अध्यादेश र मस्यौदा हुबहु लागू गरिए असल नियतले निरन्तर लागिरहेका सहकारीहरुलाई धेरै सकस पर्ने भएकाले यसलाई संसोधन गर्नुपर्ने राय व्यक्त गर्नुभयो । संघका अध्यक्ष विभु कुमार पोखरेलले अध्यादेश र मस्यौदाका राम्रा पक्षहरु भएपनि समग्रमा यसले सहकारी अभियानलाई साँघुरो पार्नेमा चिन्ता व्यक्त गर्दै राज्यले खराब तथा असल सहकारीहरुलाई एउटै कसीमा राखेर नियम कानुन बनाउनले राम्रा सहकारीहरु पनि धरासयी हुँने भएकाले यसलाई तुरुन्त सच्याउन माग गर्नुभयो । संकल्प बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष गणेश पौडेलले राज्यले गलत गर्नेलाई नियमन गर्नको लासग कानुन बनाउने हुँदा त्यसलाई सहज रुपमा लिदैं अध्यादेश र मस्यौदामा भएका कुराहरु सहकारीहरुकै हितमा रहेकाले यसलाई लागू गर्न सहकारीकर्मीहरु इमान्दारिताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्र बैंकले सहकारीहरुलाई नियमन गर्नुपर्ने अवस्था सहकारीकर्मीहरुलेनै निम्त्याएको उल्लेख गर्दै केही बुँदाहरुमा पुर्नविचार गर्दै बाँकीलाई तत्काल कार्यन्यनमा लैजानुपर्नेमा जोड दिनुभयो । अन्र्तक्रियामा बोल्ने वक्ताहरुले विशेषगरी बचतको सिमा , कार्यकाल अवधी ,संचालकले लिने ऋण सुविधा , एक पटकमा एक संस्थाको मात्र नेतृत्व ,बचतको प्रकार ,ऋणलाई पुनर्ताजगी गर्दा प्रोभिजन गर्नु पर्ने व्यबस्थाहरुमा परिमार्जन गर्नु पर्नेमा जोड दिनुभएको संघका सचिव वसन्त कुमार आचार्यले जानकारी दिनुभयो ।
संघका अध्यक्ष बिभु पोखरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको रौतहट दुग्ध सहकारी संघ अध्यक्ष श्रीकृष्ण अधिकारीले व्यनर पढेर उद्घान गर्नुभएको थियो । ब्यानर पढी सुरुवात संघका महासचिव देब बहादुर सापकोटाले सञ्चालन गर्नुभएको सो कार्यक्रममा उपाध्यक्ष राम विश्वास पासवानले स्वागत मन्तव्य राख्नुभएको थियो । जिल्लाभरी रहेका बचत ऋण सहित अन्य प्रकृतिका सहकारी प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा जिल्लाभरीका सबै प्रकृतिका प्रारम्भिक साकोसका अध्यक्ष, व्यबस्थापक सहितको प्रतिनिधि गरि ५० जनाको उपस्थिति रहेको संघका कोषाध्यक्ष नरेन्द्र राना मगरले जानकारी दिनुभयो ।