चन्द्रपुर, ७ चैत । गरुडा नगरपालिका र माधव नारायण नगरपालिकाको आयोजना तथा ग्रामीण विकास केन्द्र नेपाल (RDC Nepal) र वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा चार दिने “विपद् प्रतिकार्य तालिम सम्पन्न भएको छ । फागुन ३ देखि ६ गतेसम्म चन्द्रनिगाहपुरस्थित होटल तराई इनमा सञ्चालन भएको उक्त तालिममा गरुडा र माधव नारायण नगरपालिकाका विपद् व्यवस्थापन समितिका सदस्यहरू, स्थानीय समुदायका प्रतिनिधिहरू लगायत रुपान्तरण सहजकर्ता गरी २४ जना सहभागी भएका थिए ।
तालिममा आगलागी, भूकम्प, दुर्घटना, पानीजन्य प्रकोप, पहिरो, महामारी तथा सर्पको टोकाइ जस्ता विपद्का घटनामा कसरी उद्धार तथा प्रतिकार्य गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। साथै, जोखिम न्यूनीकरण, प्राथमिक उपचार, उद्धार तथा राहत व्यवस्थापन, जोखिम मूल्यांकन तथा आपत्कालीन योजनाबारे विस्तृत जानकारी दिइयो ।
तालिमको उद्घाटन गरुडा नगरपालिकाकी उपप्रमुख पुनम कुमारी चौधरीले गरेकी थिइन् ।
कार्यक्रममा विशेष अतिथिका रूपमा गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणी प्रसाद जयसवाल, प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलम, विपद् व्यवस्थापन समिति प्रमुख अर्जुन राय यादव तथा माधव नारायण नगरपालिकाका विपद् व्यवस्थापनका फोकल पर्सन राजेश प्रसाद यादवको उपस्थिति रहेको थियो । तालिममा विपद् व्यवस्थापन समितिका सदस्यहरूलाई विशेष प्रशिक्षण दिई स्थानीय समुदायको प्रतिकार्य क्षमतालाई बलियो बनाउने उद्देश्य राखिएको थियो । यस किसिमका तालिमहरूले विपद् व्यवस्थापनको प्रभावकारिता बढाउने र स्थानीय स्तरमै उद्धार कार्यलाई सहज बनाउने विश्वास गरिएको छ । एकीकृत पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाका अधिकृत कुन्दन कुस्वाहाका अनुसार, “विपद् प्रतिकार्य सम्बन्धी यस्ता तालिमहरूले समुदायलाई विपद् रोकथाम तथा न्यूनीकरणमा सक्रिय बनाउनेछन् ।“ स्थानीय तह तथा सरोकारवालाहरूको सहकार्यले विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने र भविष्यमा आउने विपद् जोखिमलाई कम गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।