रौतहट,२५ चैत । राजनीतिक जीवनमा लामो समय जनमोर्चामा रहेर काम गरेका उपेन्द्र शाह माओवादी हुँदै प्रभु शाहसँगै एमालेमा प्रवेश गरे । प्रभुले एमाले पनि छाडेर नयाँ पार्टी बनाउँदा पनि उनकै साथमा रहेका उपेन्द्र साहले अन्तत प्रभु शाहको पार्टी छाडेका छन् ।
शाहले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले प्रभु शाहको आम जनता पार्टी छाडेको बताएका हुन् ।
उनले प्रभु शाहको पार्टीलाई प्रगतिको कामना गर्दै आफूले सो पार्टीको कुनै पनि तहमा आजदेखि नरहेको भन्दै फेसबुकबाटै राजीनामा दिएको बताएका हुन् ।
प्रभु शाहले काठमाडौँमा विशाल आमसभा गरेको भोलिपल्टै उपेन्द्र शाहले सो पार्टीबाट राजीनामा दिनुले केही अर्थ राखेको जानकारीहरूको बुझाइ रहेको छ ।
नेकपा एमाले रौतहटको इन्चार्ज समेत रहिसकेका शाह पछिल्लो समय प्रभुले पार्टी छाडेसँगै उनकै पार्टीमा दोस्रो वरियतामा रहेर काम गरिरहेका थिए ।
प्रभु शाहको आम जनता पार्टीमा राजनीतिक भविष्य नदेखेका कारण शाहले सो पार्टी छाडेको अनुमान गरिएको छ ।
प्रभु शाहको पार्टी छाडेका उपेन्द्र नेकपा एमालेमा आउन सक्ने भन्दै सामाजिक सञ्जालमा उनको पोस्टको तल कमेन्टहरु आइरहेको देखिन्छ ।