गौर,६ बैशाख । रौतहट जिल्लाका केही स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू आफ्नो पद धरापमा नपरोस् भन्नका लागि मात्र एमालेमा बसिरहेको गुनासो बढ्न थालेको छ ।
नेकपा एमालेको सूर्य चिन्हबाट गएको स्थानीय तहमा प्रमुख तथा उपप्रमुख जितेकाहरू देखाउनका लागि मात्र आफूहरू एमाले हुँ, भनेर बाहिर बाहिर अन्य पार्टीलाई सहयोग गर्दै हिँड्ने गरेको नेकपा एमालेका कार्यकर्ताहरूले गुनासो गरेका छन् । एमालेको सूर्य छापबाट स्थानीय तहको प्रमुख र उपप्रमुख जितेकाहरू यतिबेला अन्य पार्टीलाई सहयोग गर्दै हिँड्न थालेको एमालेका कार्यकर्ताहरूको बुझाइ रहेको छ ।
कुनै बेला प्रभु शाहका निकट मानिएका देवाही गोनाई नगरपालिकाका नगरप्रमुख प्रेमलाल शाहले नेकपा एमालेको सूर्य चिन्हबाट चुनाव जितेका थिए ।
प्रभु शाहका निकट मानिएका प्रेमलाल शाह आफ्नो नगर प्रमुखको पद नै धरापमा पर्ने देखेर उनी प्रभु शाहसँगै आम जनता पार्टीमा नगई एमालेमै बसेका छन् । बाहिर बाहिर आफू एमालेकै नगरप्रमुख हुँ भन्दै हिँड्ने शाह पछिल्लो समय माधव नेपाल निकट हुँदै गएको भन्दै एमालेका कार्यकर्ताहरूले उनको नगरमै विरोध गर्न थालेका छन् । एमाले छाडेर प्रभु शाहले आम जनता पार्टी खोलेपछि उनी आफ्नो पद नै धरापमा पर्ने देखेर प्रभु शाहको पार्टीमा गएका थिएनन् । आम जनता पार्टीमा समेत आफ्नो खासै भविष्य नदेखेका नगर प्रमुख प्रेमलाल शाह पछिल्लो समय माधव नेपाल निकट बन्दै गएको सो पालिकाका एक एमाले कार्यकर्ताले बताएका छन् ।
ती एमाले कार्यकर्ताका अनुसार शाहले देखाउनका लागि मात्र आफू एमाले हुँ भन्ने गरेको र भित्रभित्र प्रभु शाह र माधव नेपालको पार्टीलाई सहयोग गर्दै आएका छन् ।
यता सोही पालिकाकी उपप्रमुख परनिया देवी समेत देखाउनका लागि एमाले बनेको र भित्रभित्र प्रभु शाहको आम जनता पार्टीलाई सहयोग गर्दै आएको भन्दै सो पालिकामा रहेका एमाले कार्यकर्ताहरुले उनको समेत तीव्र आलोचना गर्न थालेका छन् ।
सो पालिकाकी उपप्रमुख परनियादेवी देखाउनका लागि मात्र नेकपा एमाले हुँ भन्ने र भित्रभित्र आम जनता पार्टीको कार्यक्रमहरुमा सक्रिय रुपमा साथ दिँदै आएको भन्दै उनको समेत आलोचना हुन थालेको छ ।
देवाई गोनाई नगरपालिकाका नगर प्रमुख प्रेमलाल शाह र उपप्रमुख परनियादेवी आउँदो ८४ को चुनावसम्म एमालेमा नरहने भन्दै उनीहरूलाई पार्टीले कारबाही गर्नुपर्ने तल्लो स्तरबाट आवाज उठ्न थालेको अर्का एक एमाले कार्यकर्ताको भनाइ रहेको छ ।
प्रभु शाहले एमाले छाडेर आम जनता पार्टी दर्ता गरेपछि केही समय प्रभु शाहकै पछि लागेका नगरप्रमुख प्रेमलाल शाहले प्रभु शाहसँग आफ्नो भविष्य नदेखेका कारण पछिल्लो समय भित्रभित्र माधव नेपालको एकीकृत समाजवादी पार्टी नजिक हुँदै गएको सोपालिकाका एक एमाले कार्यकर्ताले गुनासो गरेका छन् ।
प्रभु शाहकै नजिक भएका कारण नेकपा एमाले पार्टीबाट टिकट पाएर रौतहटको तीनवटा पालिका देवाही गोनाही, मौलापुर र गरुडा नगरपालिकामा एमालेले चुनाव जितेको थियो ।
तर ती तीनवटै पालिकाका प्रमुखहरू यतिबेला नेकपा एमाले नजिक नभएर अन्य पार्टी नजिक हुँदै गएका छन् । मौलापुर नगरपालिकाकी नगरप्रमुख उनकै श्रीमती बाहेक देवाही गोनाई र गरुडा नगरपालिकाका नगर प्रमुखहरू देखाउनका लागि एमाले हुँ भन्ने र भित्रभित्र अन्य पार्टीलाई सहयोग गर्ने काममा सक्रिय रहेको भन्दै नेकपा एमाले रौतहटभित्र उनीहरूको तीव्र आलोचना भइरहेको छ ।