गौर,१० बैशाख । सर्लाही र रौतहट जिल्लाका भारतसँग जोडिएका सीमा क्षेत्रहरूमा तस्करी कार्य तीव्र गतिमा जारी रहेका छन् । नियमनकारी निकायको सेटिंगमा चलिरहेको यो तस्करीले नेपालका भन्सार कार्यालय र अन्य सरकारी निकायहरूको कार्यक्षमता माथि गम्भीर प्रश्न खडा गरेको छ । सर्लाहीको पर्सा गाउँपालिकामा सिमावर्ती क्षेत्रको जस्तापाताको घरमा भण्डारण गरिएको टर्कीको उच्च क्वालिटीको मकैं ४ सय बोरा पनि नेपाल र भारत बीचको सीमा अतिक्रमण गर्दै तस्करीको केन्द्र बनिरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सामुन्ने तस्करहरूले स्थानीयलाई उचालेर सामान लुट्न लगाएका छन्। गत साता सशस्त्र प्रहरी र नेपाल प्रहरीले गोदाममा छापा हानेको भए तापनि त्यहाँ विवाद उत्पन्न भएपछि सुरक्षाकर्मी पछि हटेका थिए । यस घटनाले सुरक्षा निकायको संलग्नता र कारवाही प्रक्रिया बारे गम्भीर सवाल खडा गरेको छ । राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख हरी शर्माले जानकारी दिएका अनुसार, उक्त गोदामलाई सिल गरेर कागजातहरू समेटिएको थियो, तर पछि तस्करहरूले गोदामबाट मकैं लुटेर लन लगाएका थिए । यस घटनाले सुरक्षाकर्मीहरूको सेटिंगमा संलग्नता र राजस्व चुहावटमा संलग्नता रहेको शंका थप प्रबल बनाएको छ । यस घटनामा सुरक्षा निकायका अधिकारीहरू अपुष्ट आरोपको शिकार बनेका छन् ।
सर्लाही र रौतहटका विभिन्न सीमावर्ती क्षेत्रहरूबाट दैनिक रुपमा खाद्यान्न, कपडा, चिनी, मलखाद्य, सुर्ती, तरकारी, हार्डवेयर लगायतका सामान तस्करी हुँदै भारततर्फ पठाइन्छ । स्थानीय श्रोतका अनुसार, नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले सेटिंग मिलाएर तस्करी कार्यलाई संरक्षण दिइरहेका छन् । यसले भन्सारको राजस्वमा ठूलो ह्रास ल्याएको छ र देशको आर्थिक व्यवस्था माथि नकारात्मक प्रभाव पारेको छ ।
रौतहट जिल्लाको भन्सार कार्यालयले २०८१ वैंशाख १ देखि २०८२ वैंशाख ८ सम्म ५ करोड ८९ लाख ७४ हजार २३५ रुपैयाँको सामान बरामद गरेको जानकारी दिएको छ । यस क्रममा ११० जना तस्कर, २३७ मोटरसाइकल, ४ वटा स्कारपियो, ९ वटा सिटी रिक्सा, ३ वटा पिकअप र ३१ वटा साइकल पनि बरामद गरिएका छन् । यद्यपि, तस्करीको वास्तविक परिमाण अझै बढी रहेको अनुमान गरिएको छ ।
राजस्व चुहावट समितिको बैठक भई नियमकानून कागजमा मात्र थन्किएको र राजस्व प्रभावित हुँदा यसका कारण तस्करीलाई प्रोत्साहन मिलेको स्थानीय श्रोतको दाबी छ ।