रौतहट २२,बैशाख । रौतहटको चन्द्रपुरमा ‘जय नेपाल कप’ अन्तर कलेज क्रिकेट प्रतियोगिता–२०८२ आयोजना गरिने भएको छ । प्रतियोगिता बैशाख २३ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगिताबारे आज चन्द्रपुर-८ कोटिहोमको खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो ।
पत्रकार सम्मेलनमा आयोजक संस्थाका संयोजक श्यामहरी चौलागाईंले प्रतियोगिता युवामा खेल भावना, अनुशासन र सकारात्मक सोच विकास गर्न लक्षित गरी आयोजना गरिएको जानकारी दिए। “कुलतमा नलागून् भनेर सबै कलेजका विद्यार्थीलाई समेटेर यो प्रतियोगिता सुरु गर्न लागिएको हो,” उनले भने।
प्रतियोगितामा रौतहट जिल्लाका आठवटा क्याम्पस सहभागी हुनेछन् । सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा गौरीशंकर यादव रौतहट क्याम्पस (गौर),
मध्या रौतहट मल्टिपल क्याम्पस (गरुडा),सुरत रामकेवाल मल्टिपल क्याम्पस (गुजरा),कटहरिया मल्टिपल क्याम्पस (कटहरिया) रहेका छन भने समूह ‘बी’ अन्तरगत सिन्धुरेघारी मल्टिपल क्याम्पस (चन्द्रपुर),श्रीदेवी सीटीइभीटी कलेज (मधवनारायण),लक्ष्मी श्री मल्टिपल क्याम्पस (समनपुर),अभियान एजुकेशनल कन्सल्टेन्सी (गौर) रहेका छन ।
प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिता माघ २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो । माघ ३० गते सेमिफाइनल र माघ ३१ गते बिहान ११ बजे फाइनल खेल आयोजना गरिनेछ ।
प्रतियोगिताका ब्यवस्थापक देवराज कार्कीले प्रतियोगिता युवाहरूलाई सकारात्मक दिशातर्फ मोड्ने अभियान भएको उल्लेख गर्दै खेलकुदले सामाजिक एकता र विकासमा योगदान दिने विश्वास व्यक्त गरे ।
प्रतियोगिताको बिजेता हुनेलाई प्रथम पुरस्कार रु. १ लाख रुपैयाँ र उपविजेतालाई ५० हजार रुपैयाँ रहेको छ ।
संयोजक चौलागाईंका अनुसार मौसमका कारण खेल प्रभावित भएमा समूह चरणमा अंक बराबरी बाँडिनेछ भने नकआउट चरणका लागि रिजर्भ डेको व्यवस्था गरिएको छ ।
पत्रकार सम्मेलनमा आयोजक समितिका अन्य सदस्यहरू, खेलाडीहरु र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।