रौतहट,८ जेठ । गरुडा नगरपालिकामा करिब ८ करोड ५० लाख रुपैयाँ लागतका ६ वटा विकास योजनामा टेन्डर प्रक्रिया अगावै निर्माण कार्य सुरु भएको खुलासा भएको छ । टेन्डर सूचना आउँदो जेठ १८ गते प्रकाशित गर्ने तयारी भइरहेका बेला योजनाको काम थालिएको पुष्टि भएपछि गम्भीर अनियमितताको आशङ्का गरिएको छ ।
नगरप्रमुख कन्थमणी प्रसाद कलवार, प्रमुख प्रशासकीय अधिकृत मोहताक आलम र इन्जिनियर सञ्जय यादवको मिलेमतोमा सार्वजनिक सूचना बिना नै योजनाहरू ठेकेदार सन्तोष केसरीलाई दिएको स्रोतको दाबी छ । नगरका युवा नेता तथा आगामी स्थानीय चुनावमा मेयर पदका आकाङ्क्षी अनिल यादवले प्राप्त सूचनाको आधारमा स्थलगत अनुगमन गर्दा योजनाहरूमा निर्माण कार्य अघि बढिसकेको फेला पारेका हुन् ।
‘जब टेन्डर नै खुलेको छैन, त्यस्तो अवस्थामा योजना कसरी सञ्चालन भयो?’ भन्ने प्रश्नमा अधिकृत आलमले आफूलाई जानकारी नभएको भन्दै पन्छिने प्रयास गरे ।
इन्जिनियर यादवले योजनाहरू उपभोक्ता समितिमार्फत सञ्चालित भएको बताए पनि स्थलगत अवलोकनमा ठेकेदार केसरीकै कामदार र उपकरण प्रयोग भइरहेको देखिएको यादवको दाबी छ ।
उनका अनुसार योजनाहरू पूर्वनिर्धारित रूपमा ठेकेदारलाई दिइएको र यसले ठेक्का प्रक्रियामा गम्भीर कमिसन चलखेल भएको प्रमाणित गर्छ । यादवले जनताको करदाताको पैसामा खुला दोहन भइरहेको भन्दै तत्काल छानबिनको माग गरेका छन् ।
अनुगमनका क्रममा कतिपय योजनामा निर्माण सामग्री, मजदुर परिचालन भइसकेको र केही स्थानमा संरचना निर्माणसमेत सम्पन्न भइसकेको भेटिएको छ । योजना सडक विस्तार, नाला निर्माण र भवन निर्माणसँग सम्बन्धित रहेको बुझिएको छ ।
घटनाले गरुडा नगरपालिकाको प्रशासनिक पारदर्शिता र जबाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ ।
स्थानीयवासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी गरिरहेका छन् भने अनिल यादवले जिल्ला प्रशासन र सम्बन्धित निकायहरूलाई छानबिनका लागि अनुरोध गरिसकेका छन् ।
‘यो केवल एउटा योजना होइन, योजनाको नाममा व्यापक भ्रष्टाचार भएको छ । यदि अब पनि नरोकिने हो भने हामी आम जनतालाई लिएर आन्दोलनमा उत्रन्छौँ,’ उनले चेतावनी दिए । नगरप्रमुख कलवारसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।
सङ्घीय सरकार बजेटको पारदर्शी उपयोगका लागि कडाइका साथ निर्देशन दिइरहेका बेला गरुडा नगरपालिकामा देखिएको यस्तो अभ्यासले स्थानीय प्रशासनिक प्रणालीप्रति गम्भीर प्रश्न उठाएको छ । अब अख्तियार लगायत सम्बन्धित निकायले कस्तो कदम चाल्छन् भन्ने स्थानीयको चासोको विषय बनेको छ ।
सो नगरपालिकामा पछिल्लो समय व्यापक रुपमा आर्थिक अनियमिता हुदै आएको स्थानीयले बताएकाछन् ।








