२०३६ साल भदौ १९ गते रौतहटको डुमरिया गाविस–७ स्थित चेतनगरको मलिन टोलमा जन्मिएका उदय नारायण सापकोटा २०३९ सालदेखि बसन्तपुर क्षेत्रमा हुर्किए । विद्यार्थी जीवनमै व्यापारिक सोच राख्ने सापकोटाले कालिका मावि र जनजागृति माविबाट १२ कक्षासम्मको पढाइ गर्दै बसन्तपुर चोकको काठको घुम्तीमा पान पसलबाट व्यवसाय सुरु गरे ।
विदेशमा ६ वर्षको रोजगारी पश्चात् २०६४ सालमा स्वदेश फर्किएपछि चन्द्रनिगाहपुरको गौर रोडस्थित चोकमा ‘प्राणनाथ किराना तथा मलखाद स्टोर्स’ स्थापना गर्दै व्यवसाय विस्तार गरे । उनी हाल घरजग्गा, होटल, सिनेमा र चलचित्र निर्माण जस्ता विविध क्षेत्रमा सक्रिय छन् ।
सापकोटा चन्द्रपुर होटल व्यवसायी संघका संस्थापक अध्यक्ष हुन् । २०७० सालमा पुलचोकमा ‘होटल उदय प्लाजा’ सञ्चालनमा ल्याए त्यसकै छतमा आधुनिक प्रविधियुक्त ‘ब्रोसिस डिजिटल सिनेमा हल’ सञ्चालन गरेर नगरवासीलाई मनोरञ्जनको नयाँ गन्तव्य दिए ।
२०७३ सालमा ‘मेरो देश’ नामक नेपाली चलचित्र निर्माण गरेर सापकोटाले सामाजिक बेथितिविरुद्ध सशक्त सन्देश दिए। डिजिटल लगबुकमार्फत पारदर्शी शासन प्रणालीको परिकल्पनामा आधारित यो चलचित्रले बेलायतबाट ‘विशेष चलचित्र पुरस्कार’ जित्यो ।
व्यवसायमा जस्तै संघ संस्थामा पनि सापकोटाको सक्रियता उल्लेखनीय छ । उनी २०६४ मा चन्द्रपुर उद्योग वाणिज्य संघको सदस्य, २०६७ मा कार्यसमिति सदस्य, २०७० मा महासचिव हुँदै २०७९ सालमा अध्यक्षमा निर्वाचित भए । त्यसयता उनले तीनवटा चन्द्रपुर महोत्सव सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । उनै सापकोटासंग तराई एक्सप्रेसले गरेको कुराकानीको संक्षिप्त अंश यहाँ प्रस्तुत छ ।
तपाईँको बाल्यकाल र पारिवारिक पृष्ठभूमिबारे केही जानकारी दिनुहोस् ?
मेरो जन्म २०३६ साल भाद्र १९ गते रौतहट जिल्ला डुमरिया गा.वि.स. वडा नं. ७, चेतनगरको मलिन टोलमा भएको हो । बुबा गोपाल प्रसाद सापकोटा (धाराघरे काइँला) र आमा मञ्जु माया सापकोटाको जेष्ठ सन्तान म बाल्यकालदेखि नै जिम्मेवार बन्नुपरेको थियो । २०३९ सालदेखि मेरो बाल्यकाल बसन्तपुरमा बित्यो । त्यसपछि २०५३ सालतिर चन्द्रनिगाहपुर बस्न थालेको भए पनि स्थायी बसाइ २०५६ सालमा सरें ।
पढाइ लेखाइ कहाँसम्म गर्नुभयो ?
म सुबलाल मावि, कालिका मावि र जनजागृति माविबाट पढेर १२ कक्षा सम्मको अध्ययन सम्पन्न गरेको छु । पढाइका क्रममा नै बसन्तपुर चोकमा काठको घुम्तीमा पान पसलबाट व्यवसायिक यात्रा सुरु गरेको थिएँ ।
व्यवसायिक यात्राको सुरुवात कसरी गर्नुभयो ?
विद्यार्थी जीवनमा पान पसलबाट सुरु गरेको व्यवसायलाई विस्तार गर्दै हाल त्यही ठाउँमा महामती किराना तथा मल खाद पसल सञ्चालनमा छ । म २०५८ देखि २०६४ सालसम्म वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकमा थिएँ । त्यो अवधिमा मेरो बुबा र भाइले पसललाई निरन्तरता दिनुभयो । २०६४ साल माघदेखि चन्द्रनिगाहपुरको चोक गौर रोडमा ‘प्राणनाथ किराना तथा मलखाद स्टोर्स’ सुरु गरेँ ।
तपाईँले घरजग्गा र होटल व्यवसाय पनि सुरु गर्नुभयो भन्ने सुनिन्छ, त्यसबारे जानकारी दिनुहोस् ?
हो, व्यवसायको क्रममा चपुर क्षेत्रमा घरजग्गाको कारोबार सुरु गरेँ । साथीहरूसँग मिलेर ‘ब्रोशिस नामक कम्पनीमार्फत काम गरिरहेका छौं । पछि घर बेचेर पुलचोकमा होटल उदय प्लाजा खोलेँ । त्यसपछि २०७० सालदेखि सोही होटलको छतमा ब्रोसिस डिजिटल सिनेमा हल सञ्चालनमा ल्याएँ ।
चलचित्र निर्माणमा पनि हात हालेको सुनिएको छ, त्यसभन्दा विस्तृत जानकारी दिनुहोस् ।
२०७२ को विनाशकारी भूकम्पपछि समाजमा मौलाउँदै गएको बेथिति, भ्रष्टाचार, अपारदर्शिता र दण्डहीनता विरुद्ध आवाज उठाउन ‘मेरो देश’ नामक चलचित्र निर्माण गरेँ । त्यस चलचित्रमा डिजिटल लगबुकको कल्पनामा आधारित कथावस्तु रहेको छ, जसमा प्रत्येक नागरिकको ई–लगबुक बनाएर पारदर्शी शासनको परिकल्पना गरिएको छ । यो चलचित्र २०७३ फागुन ७ गते देशव्यापी प्रदर्शनमा आयो र बेलायतबाट “विशेष चलचित्र अवार्ड“ समेत जित्यो ।
चन्द्रपुर उद्योग वाणिज्य संघसँगको सम्बन्ध र योगदानबारे भन्नुहोस् ?
म २०६४ साल माघमा संघको साधारण सदस्य भएँ । २०६७ मा कार्यसमिति सदस्य, २०७० मा महासचिव र २०७९ साल श्रावण २८ गते अध्यक्षमा निर्वाचित भएँ । २०६८ सालमा प्रथम चन्द्रपुर महोत्सव मेरो अगुवाईमा सम्पन्न भयो । त्यसै वर्ष होटल व्यवसायी संघ रौतहटको पनि गठन भयो । दोश्रो र चौथो चन्द्रपुर महोत्सव पनि मेरो नेतृत्वमा सम्पन्न भयो । पाँचौं महोत्सव २०८२ सालको पुस १४–२० गते गरिने घोषणा भइसकेको छ ।
तपाईंको कार्यकालमा भएका केही विशेष विकास कार्यबारे बताउनुहोस् ?
मेरो नेतृत्वमा चपुर चोकबाट १८ सय मिटरको चारलेन राजमार्ग निर्माण भएको छ, जुन डिभिजन सडक कार्यालयका ई. दरोगा साह र नगर प्रमुख सञ्जय काफ्लेको सहयोगमा सम्भव भयो । उद्योग वाणिज्य संघको आफ्नै भवन हाल निर्माणको अन्तिम चरणमा छ, जुन १ कठ्ठा जग्गामा मेरो र प्रकाश गहतराजको साझेदारीबाट निःशुल्क प्रदान गरिएको हो ।
व्यवसायीका हक हितका लागि पनि केही पहल गर्नुभएको छ ?
हो, व्यवसाय करको व्यवस्थापन, नगरपालिकामै उद्योग शाखा स्थापना, र दोहोरो करको अन्त्य गर्न सफल भयौं । जनज्योति क्याम्पसका विद्यार्थीहरूलाई लेखा सहयोगमा लगाउने योजना पनि छ, जसले साना व्यवसायीलाई डिजिटल लेखा राख्न मद्दत पुर्याउनेछ । साथै चन्द्रपुर उद्यमी घर, चिस्यान केन्द्र, प्याकेजिङ तथा ब्राण्डिङ जस्ता पहल पनि अगाडि बढेका छन् ।
आउँदो आठौँ अधिवेशनमा पुनः उम्मेदवार बन्ने योजना छ ?
अवश्य ! मेरो कार्यकाल श्रावण २७ गते सकिँदैछ । त्यसको १० दिनअघि अर्थात् श्रावण १७ गते आठौं अधिवेशन तोकिएको छ । यस अधिवेशनमा पुनः नेतृत्वका लागि व्यवसायी साथीहरूबाट समर्थन माग्दैछु । सातौं अधिवेशनमा पाएको विश्वास जस्तै यसपटक पनि साथ पाउने पूर्ण विश्वास लिएको छु ।