चन्द्रपुर,२० जेठ ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २ स्थित असनवा स्कुल नजिकको सडक अहिले नालाको फोहोर पानीले भरिँदै प्रदूषणको मुख्य केन्द्र बन्दै गएको छ। जनप्रतिनिधिको बेवास्ता र अदुरदर्शीताका कारण स्थानीय चौधरी टोलको नालाबाट निस्कने फोहोर सिधै सडकमा बगिरहेको छ ।
स्थानीयको गुनासो छ – वर्षा सुरु भएसँगै नालाको पानी सडक हुँदै घरभित्रसम्म पस्न थालेको छ। सडकमा बग्ने फोहोर, दुर्गन्धित र प्रदूषित पानीका कारण बालबालिका र वृद्धवृद्धामा छाला रोग, झाडापखाला लगायतका रोग फैलिने जोखिम बढेको छ ।
ूयो समस्या बर्षौँदेखि दोहोरिँदै आएको हो, तर समाधानका लागि नगरपालिका गम्भीर देखिँदैन,ू स्थानीय सञ्चारकर्मी अनमोल काकीृ बताउँछन्। “सडक बनेको छैन, नाला व्यवस्थित छैन, सानो पानी परे पनि सडक ताल बनेको जस्तो देखिन्छ,” उनले थपे ।
स्थानीयले पटकपटक जनप्रतिनिधिलाई समस्या समाधानका लागि अनुरोध गर्दै आएका छन् तर हालसम्म दीर्घकालीन समाधानको पहल भएको छैन ।
चौधरी टोलका बासिन्दाहरूले तत्काल नालाको उचित व्यवस्थापन र सडक निर्माण गरिदिन माग गरेका छन्। उनीहरूको भनाइ अनुसार नगरपालिकाले समयमै कदम नचाले स्वास्थ्य संकट उत्पन्न हुन सक्ने देखिन्छ ।
स्थानीयहरू अब संगठित भएर आन्दोलनको तयारीमा समेत रहेको बताइएको छ । समस्या दीर्घकालीन समाधान नपाए ठूलो जनस्वास्थ्य संकट निम्तिने स्थानीयले तराई एक्सप्रेसलाई बताए ।
स्थानीयको आवागमन र जनजीवन प्रभावित बनाउने यस्तो समस्याप्रति चन्द्रपुर नगरपालिकाले तत्काल ध्यान दिनुपर्ने स्थानीयको भनाइ रहेको छ ।








