चन्द्रपुर,२१ जेठ ।
चन्द्रपुर नगरपालिकाको मुटुमा रहेको व्यस्त बजार क्षेत्र बिजुली, इन्टरनेट र टेलिकमका तारले जथाभावी झुन्डिएर दुर्घटनाको जोखिम निम्त्याइरहेको छ । नगरपालिका–४ स्थित एक्स्ट्रा भेराइटी डिपार्टमेन्ट स्टोर अगाडि चार दिनदेखि तारहरू सडकको बीचमै लठ्ठिएर झुन्डिएका छन्, जसका कारण पैदल यात्रु, स्कूले बालबालिका, मोटरसाइकल चालक र साना सवारी साधन प्रयोगकर्ताहरू गम्भीर जोखिममा परेका छन् ।
समस्या यति स्पष्ट र खतरनाक बनेको छ कि सजिलै देख्न सकिने अवस्थामा छ, तर पनि जिम्मेवार निकायहरू—नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर, नेपाल टेलिकम र चन्द्रपुर नगरपालिका—सबै बेवास्ता गरिरहेको देखिन्छ ।
विद्युत् प्राधिकरण चन्द्रनिगाहपुरले आवश्यक निरीक्षण, मर्मत वा व्यवस्थापनमा कुनै चासो दिएको छैन । जनप्रतिनिधिहरूले पनि नदेखेको जस्तो गर्दै आफू अनजान झैं प्रस्तुत गरिरहेका छन् । न त वडा अध्यक्षको तर्फबाट हस्तक्षेप भएको छ, न त मेयर कार्यालयले कुनै पहल लिएको छ ।
स्थानीयवासीहरू भने दिनहुँ डरको छायाँमा बाँच्न बाध्य छन् । झुन्डिएका तारले सवारी साधनको हाइट छुने गरी सडक मुनि झुन्डिएको छ । एक इञ्च तल र केही क्षण ढिलो भए सवारीको स्पर्शमा करेन्ट लाग्न सक्ने सम्भावना रहन्छ । “हामीले नगरपालिका कार्यालयमा खबर गरिसकेका छौं । तर कुनै प्रतिक्रिया छैन । यस्तो लाग्छ, कुनै दुर्घटना नभएसम्म कसैले केही गर्नेवाला छैन,“ स्थानीय व्यापारी रोहित बास्तोलाले भने ।
अर्का स्थानीयवासीका अनुसार, “दिनहुँ सयौं मानिस यो सडक प्रयोग गर्छन् । यस्तो अवस्थामा कसैलाई करेन्ट लाग्यो भने त्यसको जिम्मेवार को हुन्छ ?“
इन्टरनेट सेवा प्रदायकको पनि उत्तिकै जिम्मेवारी भए तापनि अहिलेसम्म तार व्यवस्थापनमा कसैले अग्रसरता देखाएको छैन ।
चार दिनसम्म खुला सडकमा यस्तो जोखिम रहँदा समेत बेवास्ता गर्नु, जनताको ज्यानप्रति गम्भीर खेलवाड हो स्थानीयले भने । अब पनि सम्बन्धित निकाय र जनप्रतिनिधिले आँखा चिम्लेर बसिरहे, कुनै दिन सामान्य दुर्घटना गम्भीर मानवीय क्षतिमा परिणत हुन सक्छ ।
स्थानीयहरूको एउटै माग छ—समस्या हेरेर मात्र होइन, पहिल्यै समाधान गर्नुपर्ने हो । नगरप्रमुख, वडा अध्यक्ष, र सम्पूर्ण सरोकारवाला संस्थाहरू तत्काल मिलेर यो समस्या समाधान गर्न अग्रसर हुनुपर्छ । २०८२ जेठ २१ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।