रौतहट,३० जेठ । जिल्लाको कटहरियाका मेयरलाई तत्काल कानुनी कारबाही गर्न नेपाल पत्रकार महासंघ रौतहटले आग्रह गरेको छ । उनले हिजो कटहरिया म्युजिकल एफएममा कार्यरत दुई सञ्चारकर्मीलाई कटरिया स्थित एक बोर्डिङ स्कुलमा बोलाएर कुटपिट गरेका थिए ।
कुटपिटबाट घाइते भएका एकजना पत्रकार सागर संगम ठाकुरको वीरगञ्ज स्थित एक अस्पतालमा उपचार भइरहेको छ ।
कटहरिया खानेपानी तथा सरसफाई उपभोक्ता समितिको समाचार उजागर गरेको भन्दै कटहरियाका मेयर अजय प्रकाशले दुई जना सञ्चारकर्मीलाई कुटपिट गरेका थिए ।
मेयर अजय प्रकाशले समाचारको विषयमा छलफल गर्नुछ भन्दै कटहरिया स्थित त्रिशक्ति बोर्डिङ स्कुलमा बोलाएर कटहरिया म्युजिकल एफएमका सञ्चारकर्मी रविन्द्र प्रजापति र सागर संगम ठाकुरलाई कुटपिट गरेको भन्दै महासंघले त्यसको कडा शब्दमा विरोध गरेको छ । नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका सचिव गौतम श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गर्दै सञ्चार जगतलाई थर्काउने काम गर्ने मेयरलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन् । यसभन्दा पहिला समेत कटहरियामा रहेको मेयर अजय प्रकाशको चिनी मिलमा उखु जोख्ने क्रममा उपभोक्तालाई ठगी गरेको विषयमा समाचार संकलन गर्न गएका दुई पत्रकारलाई मिन भित्रै कुटपिट गरी क्यामरा खोस्ने काम भएको थियो ।
सोही घटनालाई लिएर जिल्ला अदालत रौतहटले मेयर अजय प्रकाशलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएको भए पनि प्रहरीले हालसम्म पक्राउ नगरेको भन्दै विज्ञप्तिमा तत्काल पक्राउ गरेर कानुनी दायरामा ल्याउन माग गरिएको छ ।
मेयर यादवको गुण्डागर्दी शैलीका कारण रौतहटको कटरिया क्षेत्रमा रहेका सञ्चारकर्मीहरू त्रसित रहेको पिडित पत्रकार रविन्द्र प्रजापतिले बताएका छन् ।
यसबै प्रेस चौतारी रौतहट शाखाले एक बिज्ञप्ती जारी गर्दै मेयर अजय प्रकाशलाई कानुनी दायरामा ल्याउन सम्बन्धीत निकायसंग माग गरेको छ ।