पछिल्लो समय रौतहटको पत्रकारिताको बिषयमा समाजिक संजालमा बिभिन्न टिक्का टिप्पणी हुने गरेको छ । नेपाल पत्रकार महासंघको सदस्य संख्या न्युन हुनु ,कुनै सार्वनिक कार्यक्रममा पत्रकारको संख्या धेरै देखिनु ,संचारमाध्यममा समाचार नआउनु ,सामाजिक संजालमा आफुलाई पत्रकार भन्दै मनलाग्दी स्टाटस आउनुले यहाँको पत्रकारिता चर्चामा छ । यसै बिषयलाई लिएर तराई एक्सप्रेससंग नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कार्की ले भने पछिल्लो समय जिल्लामा बढ्दो पत्रकारिता क्षेत्रको विकृति र विसंगति प्रति गम्भीर छु । स्वघोषित पत्रकारहरूको भिड, भत्तामुखी मानसिकता, र समाचारविहीन पत्रकारिता प्रति उनले खुलेर आलोचना गरेका छन्।

पछिल्लो समय रौतहटमा पत्रकारिताको नाममा विकृति बढेको भन्ने आरोप लागिरहेको छ, तपाईंको बुझाइमा यो समस्या किन बढ्दो छ ?

हो, हामीले महसुस गरिरहेका छौं कि पत्रकारिताको नाममा केही व्यक्तिहरू गलत अभ्यासमा लागेका छन्। पालिकाले आयोजना गर्ने नगरसभा, गोष्ठी, कार्यक्रमहरूमा भत्ता पाउने आशमा धेरैजसो ‘स्वघोषित पत्रकार’ देखिन थालेका छन्। तर, यस्ता कार्यक्रमपछि समाचार संचारमाध्यममा देखिँदैन। यो प्रवृत्ति पत्रकारिता पेशामै धब्बा लगाउने कार्य हो।

पत्रकारको नाममा भत्ता मात्र लिने र समाचार नलेख्ने प्रवृत्ति नियन्त्रण गर्न महासंघले के गरेको छ

महासंघले यसबारे गम्भीर कदम चालिसकेको छ। केही दिनअघि हामीले एक सूचना जारी गरेर सबैलाई जानकारी गरायौं कि आफूलाई पत्रकार भन्नेहरूले फेसबुकमा लेखेका स्टाटसको कानुनी जिम्मेवारी उनीहरूले आफैं लिनुपर्नेछ। संस्थागत रूपमा महासंघको नाम प्रयोग गरेर व्यक्तिगत टिप्पणी गर्ने अभ्यास बन्द हुनुपर्छ।

सूचना निकालिएपछि जिल्लामा केही हलचल पनि देखियो, त्यसबारे तपाईं के भन्नुहुन्छ ?

हामी बुझ्छौं कि सूचना निकालेर केही व्यक्तिहरू असहज महसुस गर्न सक्छन्। तर यो व्यक्तिगत आक्षेप होइन, पेशागत मर्यादा कायम गर्न गरिएको पहल हो। पत्रकारिता अनुशासन, तथ्य र उत्तरदायित्वमा आधारित हुनुपर्छ। महासंघको भूमिका सहजीकरण र संरक्षणको हो, विकृति फैलाउनेको संरक्षण होइन।

महासंघले संचारकर्मीलाई कसरी समर्थन गर्ने हो र ?

हामीले स्पष्ट पारेका छौं—कुनै संचारकर्मीले प्रमाणसहित समाचार लेख्दा उनलाई कसैले धाकधम्की, अपमान वा दुव्र्यवहार गर्छ भने महासंघको कडाभन्दा कडा समर्थन रहनेछ। तर, प्रमाणबिना हावादारी टिप्पणी गर्ने, स्टाटसमार्फत व्यक्तिगत हमला गर्ने र त्यसलाई पत्रकारिता भन्नु उपयुक्त होइन।

आगामी दिनमा रौतहटमा पत्रकारिता क्षेत्रलाई कसरी मर्यादित बनाउने योजना छ ?

पहिलो चरणमा हामी सदस्यताको पुनरावलोकन गर्दैछौं। पत्रकार महासंघसँग आबद्ध हुन न्यूनतम मापदण्ड अनिवार्य गरिनेछ। सक्रिय पत्रकारिता नगर्ने, समाचार लेख्ने अभ्यास नगर्ने र केवल लाभका लागि कार्ड राख्ने प्रवृत्तिलाई निरुत्साहित गरिनेछ। साथै, हामी प्रेस काउन्सिल र जिल्ला प्रशासनसँग समन्वय गरेर व्यावसायिक आचारसंहितालाई प्रभावकारी बनाउने काम गर्दैछौं।

पत्रकार महासंघप्रति जनताको विश्वास बढाउन के सन्देश दिन चाहनुहुन्छ ?

संचारको शक्ति ठूलो हुन्छ। यसलाई सकारात्मक, उत्तरदायी र जनमुखी बनाउँदा मात्र पत्रकारप्रतिको विश्वास बलियो हुन्छ। जनताको सवाल उठाउने, सत्य खोज्ने र जवाफ खोज्ने पत्रकारिता नै वास्तविक पत्रकारिता हो। हामी सबै पत्रकार साथीहरूलाई पेशागत मर्यादा, अनुशासन र एकताको साथ अघि बढ्न आग्रह गर्छौं।

रौतहटमा पत्रकारिता क्षेत्रसँगै यसभित्र बढ्दो विकृति र अनुशासनहीनता महासंघको चासोको विषय बनेको छ। अध्यक्ष कार्कीको भनाइबाट स्पष्ट हुन्छ—अब पत्रकारिताको नाममा गरिने गतिविधिमा अंकुश लगाउने बेला आएको छ।