रौतहट,१० असार । मधेस प्रदेशका सञ्चार तथा गृहमन्त्री राजकुमार लेखेका कारण एमाले निकट प्रेस चौतारीका पत्रकारहरु नै अन्योलमा परेका छन् । उनी नेकपा एमालेबाट मधेश प्रदेशको गृह तथा सञ्चारमन्त्री भएका हुन् कि अन्य पार्टीबाट भएका हुन् भनेर एमाले निकटका पत्रकारहरु नै यतिबेला दोधारमा परेका छन् । उनले पछिल्लो समय मिडिया काउन्सिलमा चारजनालाई नियुक्ति दिएका थिए ।
उनले मिडिया काउन्सिलमा नियुक्त गरेका चारै जना एमाले निकट नरहेको प्रेस चौतारी मधेश प्रदेशका जिम्मेवार व्यक्तिले नै बताउन थालेका छन् । मन्त्री लेखीले मिडिया काउन्सिल मधेश प्रदेशको सदस्यमा नियुक्त गरेको एकजना महिलाले प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यलाई नै दुर्व्यवहार गरेपछि यो विषयले झनै चर्चा पाएको छ ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बख्तियार अलीले आफ्नो अनलाइन सञ्चारमाध्यममा स्वास्थ्य कार्यालय सर्लाहीमा अख्तियारको छापा शीर्षकमा समाचार छापेपछि नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाकी उपाध्यक्ष तथा मिडिया काउन्सिलमा हालै नेकपा एमालेका मन्त्रीले सदस्यमा नियुक्त गरेकी बन्दना झाले बख्तियार अलिलाई समाचार डिलिट गर्न भन्दै दुर्व्यवहार गरेकी थिइन् ।
यस विषयमा प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले एक विज्ञप्ति जारी गर्दै प्रेस चौतारीका केन्द्रीय सदस्य बख्तियार अलि माथि दुर्व्यवहार गर्ने बन्दना झालाई कडा कारबाही गर्न माग गरेका छन् ।
केही दिन पहिला बाराको निजगढमा प्रेस चौतारी नेपाल मधेश प्रदेशले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेकपा एमाले मधेश प्रदेशका इन्चार्ज लीला श्रेष्ठलाई मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री राजकुमार लेखीले विभिन्न नियुक्तिमा मनोमानी गरेको र प्रेस चौतारी निकटका पत्रकारहरुलाई बाइपास गरेको गुनासो गरेका थिए ।
यसभन्दा पहिला पनि मिडिया काउन्सिल मधेश प्रदेशको सदस्य रहेकी बन्दना झालाई राजकुमार लेखीले कसरी सदस्यमा नियुक्ति गरे आफूहरुलाई कुनै जानकारी नभएको प्रेस चौतारी मधेश प्रदेशका अध्यक्ष शेख लालबाबुले बताए ।
मन्त्री लेखीले मिडिया काउन्सिलको सदस्यमा नियुक्त गरेर पठाएको केही दिन बित्न नपाउँदै बन्दना झाले प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बख्तियार ओलीलाई समाचारको विषयमा धम्की दिने र दुर्व्यवहार गर्ने काम गरेकी हुन् ।
मन्त्री लेखीले मिडिया काउन्सिलमा हालै नियुक्त गरेका चारजनामध्ये कोही पनि प्रेस चौतारी निकटका पत्रकार नभएको र एकजना त झनै गैर पत्रकार रहेको प्रेस चौतारी मधेस प्रदेशका इन्चार्ज अचुत पौडेलले बताएका छन् ।
पार्टी सरकारमा रहेको बेलामा आफू निकटका पत्रकारहरूलाई पाखा लगाउने र आफ्नो समाचार सञ्चार माध्यममा आएन भन्दै लेखीले गुनासो गर्ने काम गर्ने गरेको भन्दै प्रेस चौतारी निकट पत्रकारहरूले आक्रोश व्यक्त गरेका छन् ।
नेकपा एमाले मधेश प्रदेशका इन्चार्ज लीला श्रेष्ठले निजगढमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै मधेशमा केही मान्छेलाई पार्टीले मन्त्री त बनायो तर उनीहरुले पार्टीको कुरा नसुनी आफ्नो मनोमानी गरिरहेको बताएका थिए । उनले नेकपा एमालेबाट मधेस प्रदेश सरकारमा गएकाहरूको मनोमानीका कारण समस्या उत्पन्न भएको बताउँदै उनीहरूलाई समय आएपछि तह लगाउने बताएका थिए । पछिल्लो समय मिडिया काउन्सिलकी सदस्यले प्रेस चौतारीका केन्द्रीय सदस्यलाई दुर्व्यवहार गरेको कुराले यतिबेला सामाजिक सञ्जालमा चर्चा पाएको छ।