गौर,१६ असार । नेपाल किसान महासंघ रौतहट जिल्ला कार्य समितिको आयोजनामा गौर नगरपालिका–४, सोबर्नामाईको प्राङ्गणमा आइतबार सम्पन्न धान रोपाइँ कार्यक्रम उत्साहजनक बनेको छ । ‘आफ्नो देशको उत्पादन हाम्रो शान ः कृषिमा उन्नति हाम्रो अभियान’ भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति यादवले किसानका समस्यालाई हल गर्न नेपाली कांग्रेस सधैं प्रतिवद्ध रहेको स्पष्ट पारे । “कृषकका हक अधिकारका लागि हाम्रो पार्टी निरन्तर संघर्षरत छ,” उनले भने, “मलखादको अभाव, सिँचाइ सुविधाको अभाव र उन्नत बीउको पहुँचका कारण किसान आज पनि असहज छन् । यी समस्याको समाधान दीर्घकालीन सोचका साथ गर्नुपर्छ ।”
उनले जलवायुमैत्री प्रविधिको प्रयोग, आधुनिक खेती प्रणालीको विस्तार तथा धान, मकै लगायत अन्नबालीको उत्पादन वृद्धि गर्न मधेस प्रदेश सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याए। “प्रदेशमा हाम्रो पार्टीकै कृषि मन्त्री हुनुका नाताले किसानमुखी नीति निर्माण र कार्यक्रम कार्यान्वयनमा कुनै कसर बाँकी राखिदैन,” यादवले भने ।
कृषिमा आधारित अर्थतन्त्रको मेरुदण्ड किसानको अवस्था उकास्न सिँचाइ, मलखाद, बीउ बीजन र बजार सुनिश्चितताका लागि शतप्रतिशत बजेट विनियोजन गर्न प्रदेश सरकारमा पहल गरिने उनले प्रतिबद्धता व्यक्त गरे। “म किसानका समस्यासँग भिजेको मान्छे हुँ, समाधानमा पनि गम्भीर छु,” यादवको भनाइ थियो ।
कार्यक्रममा नेपाली कांग्रेस गौर नगर समिति, स्थानीय कृषक, युवा तथा किसान महासंघका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।