चन्द्रपुर,१९ असार । रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सांसद तथा जनप्रिय विकास अभियानकर्ता देवप्रसाद तिमल्सिनाले वृन्दावन नगरपालिका वडा नं. १ स्थित विश्रामपुरदेखि धनगढी हुँदै खौराहा हरैया सम्म निर्माणाधीन कालोपत्रे (असफाल्ट) सडकको स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा सांसद तिमल्सिनाले निर्माण कार्यमा कुनै पनि प्रकारको लापरवाही नहुने गरी समयमै र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
अनुगमनसँगै सांसद तिमल्सिनाले स्थानीयवासीहरूसँग पनि सम्वाद गर्दै जनताका गुनासो, सुझाव र अपेक्षालाई नजिकबाट सुन्नुभएको छ । सडक निर्माणको सिलसिलामा उत्पन्न भएका साना–ठूला समस्याबारे जनतासँग खुला छलफल गर्दै उहाँले विकास निर्माणका काममा पारदर्शिता र जवाफदेहिता आवश्यक भएको उल्लेख गर्नुभयो ।
“सडक केवल ढुंगा, गिट्टी र तारको बाटो होइन, यो जनताको जीवन र भविष्यसँग जोडिएको अत्यन्त संवेदनशील विषय हो,” सांसद तिमल्सिनाले भने, “यसको निर्माण प्रक्रियामा कुनै लापरवाही सह्य हुनेछैन। जनताको पसिनाले तिर्ने करको पैसा भ्रष्टाचारमा होइन, समृद्धि निर्माणमा जानुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ ।”
रौतहट–४ का लागि यो सडक अत्यन्त महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ। कृषिमा आधारित अर्थतन्त्र बोकेको यस क्षेत्रको उत्पादन बजारसम्म पु¥याउन, नागरिकको दैनन्दिन जीवन सहज बनाउन र दुर्गम बस्तीहरूलाई मुख्यसडकसँग जोड्न यो सडकलाई अत्यन्तै उपयोगी मानिएको छ । स्थानीय जनप्रतिनिधिहरू, निर्माण व्यवसायी तथा सरकारी इञ्जिनियरहरूको उपस्थितिमा सांसद तिमल्सिनाले विकास योजनामा सरोकारवालाहरूको जिम्मेवारीबारे समेत स्पष्ट सन्देश दिनुभएको थियो । उहाँले भन्नुभयो, “यस सडक निर्माणमा गरिने कामको गुणस्तर आफैं बोल्न सक्नुपर्छ । मैले आफ्नै आँखाले हेरेर बुझें, यहाँ लापरवाहीको स्थान छैन। यदि कसैले काममा बेइमानी गर्छ भने त्यो कानुनी कारबाहीको भागीदार हुनेछ ।” सांसद तिमल्सिना केवल अनुगमनमा मात्र सीमित हुनुहुन्न; उहाँ जनतामाझ पुगेर जनसमस्याबारे प्रत्यक्ष जानकारी लिँदै आउनुभएको छ । अनुगमनकै क्रममा विस्रामपुर, धनगढी, खौराहा र हरैया क्षेत्रका बासिन्दासँग छुट्टाछुट्टै भेटघाट कार्यक्रमसमेत सम्पन्न गर्दै उहाँले जनताका आवाज सुन्नुभएको हो ।
उहाँले स्थानीयलाई सम्बोधन गर्दै भन्नुभयो, “तपाईंहरूका मतले मलाई संसदमा पु–याएको हो। अब म तपाईंहरूकै सेवक भएर तपाईंहरूको बाटो, पुल, स्वास्थ्य, शिक्षा र समृद्धिको अभियानमा निरन्तर लागिरहन्छु ।” जनतामाझ आफ्ना प्रतिबद्धता दोहो¥याउँदै सांसद तिमल्सिनाले विगत दुई कार्यकालमा आफूले निर्वाचन क्षेत्रभित्र सडक, पुल, विद्यालय, खानेपानी, स्वास्थ्य चौकी, विद्युतीकरण, सिँचाइजस्ता ठूला योजनाहरू ल्याएको जानकारी दिनुभयो ।“रौतहट–४ लाई आधारभूत पूर्वाधार सम्पन्न, रोजगारीमुखी, आधुनिक कृषि प्रविधियुक्त र आत्मनिर्भर समाज बनाउने मेरो अभियानलाई तपाईंहरूको साथले अझ मजबुत बनाएको छ,” उहाँले भन्नुभयो । सांसद तिमल्सिनाको नेतृत्वमा हाल रौतहट–४ मा दर्जनौं योजनाहरू कार्यान्वयन चरणमा छन् । संघीय सरकारसँग निरन्तर समन्वय र चासो राख्दै उहाँले धेरैजसो योजना स्वीकृत गराएका छन् भने केही योजनाको बजेट समेत विनियोजन भइसकेको छ । स्थानीय तहका जनप्रतिनिधि र सर्वसाधारणले सांसद तिमल्सिनालाई एक निष्ठावान, इमान्दार र परिणाममुखी नेताका रूपमा लिने गरेका छन् । उहाँको सक्रियता, सदाचार र जनताप्रतिको प्रतिबद्धता राजनीतिक वृत्तमा समेत उदाहरणीय मानिएको छ ।
स्थानीयका अनुसार, “तिमल्सिना रौतहटको राजनीतिमा एउटै हातमा विकास र समर्पण समेट्न सफल नेता हुन् । उहाँको स्थायित्व र सरलता नै जनताको मन जित्न सफल भएको मुख्य कारण हो ।” रौतहटको विकासको यात्रालाई अझ तीव्र बनाउँदै सांसद तिमल्सिनाले आगामी दिनमा झनै प्रभावकारी योजना ल्याउने प्रतिबद्धता जनाउँदै अनुगमन कार्य सम्पन्न गर्नुभयो । २०८२ असार १९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।