रौतहट,१९ असार । मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा पछिल्लो समय गैरकानुनी तरिकाले भइरहेको हुण्डी कारोबार दिनप्रतिदिन मौलाउँदै गएको पाइएको छ । यस्तै एक घटनामा पर्सा जिल्लाबाट स्रोत नखुलेको झन्डै २८ लाख २८ हजार रुपैयाँसहित तीन जना हुण्डी कारोबारी मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका–२ निवासी २६ वर्षीय अनिलकुमार वर्णवाल, बारा परवानीपुर गाउँपालिका–का ४४ वर्षीय दीपककुमार सोनार र वीरगन्ज महानगरपालिका–३ आदर्श टोलका २३ वर्षीय विनितकुमार श्रीवास्तव रहेका छन् । पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार उनीहरूलाई जिल्लाको विभिन्न स्थानबाट निगरानीका आधारमा पक्राउ गरिएको हो। अनिलकुमार वर्णवालको साथबाट ९ लाख ४७ हजार, विनितकुमार श्रीवास्तवको साथबाट १८ लाख ८१ हजार र दीपक सोनारको साथबाट तीन लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
हुण्डी कारोबारले अवैध रूपमा रकम भित्र्याउने र बाहिर पठाउने प्रक्रिया भएको हुँदा यो राष्ट्र बैंकसम्बन्धी कानुनविपरीत ठहरिन्छ । यस्तो कारोबारमा प्रयोग हुने रकमहरू प्रायः आपराधिक वा अवैध गतिविधिबाट संकलित हुने सम्भावना उच्च हुने सुरक्षा निकायहरू बताउँछन् । डीएसपी लम्सालका अनुसार “स्रोत नखुलेको यस्तो ठूलो रकम प्रायः हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ। कानुनी प्रक्रिया नपुगेको तथा अवैध माध्यमबाट कारोबार गर्दा राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा पर्छ ।”
पर्सासँगै रौतहट जिल्लामा समेत केही दिन अघि हुण्डी कारोबारमा संलग्न व्यक्तिहरू नगदसहित पक्राउ परेका थिए । सीमावर्ती क्षेत्रमा रहेको यो जिल्ला विगत केही समयदेखि यस्ता गैरकानुनी आर्थिक कारोबारको थलो बन्दै गएको छ ।
सुरक्षा स्रोतका अनुसार भारतसँगको खुला सीमा र बैंकिङ प्रणालीको पहुँच नपुगेका समुदायहरूले वैदेशिक रोजगारीबाट पठाइने रकम सजिलो माध्यमको रूपमा हुण्डी प्रयोग गर्दै आएका छन् । तर यो माध्यमले देशको आर्थिक प्रणालीमा अव्यवस्था उत्पन्न गर्ने खतरा छ । मधेश प्रदेशका प्रमुख सहरहरू, विशेष गरी वीरगन्ज, कलैया, गौर, चन्द्रनिगाहपुरलगायत स्थानमा हुण्डीमार्फत करोडौँको कारोबार हुने गरेको खुलेको छ । प्रहरीले यस्तो गतिविधिमा निगरानी बढाए तापनि गैरकानुनी कारोबार रोक्न सकस भइरहेको बताइएको छ । अर्थशास्त्रीहरू भन्छन्, “हुण्डीको प्रयोगले विदेशबाट पठाइने वैदेशिक मुद्राको अभिलेख राख्न नसकिने हुँदा राष्ट्रको आर्थिक नीतिमा प्रत्यक्ष असर पर्छ। साथै यस्तो प्रणालीले कालो धन, अवैध हतियार कारोबार र आपराधिक क्रियाकलापलाई समेत मलजल दिने खतरा हुन्छ ।”
पक्राउ परेकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसरी स्रोत नखुलेको ठूलो रकमसहित व्यक्तिहरू पक्राउ पर्नुले सुरक्षा निकायको सक्रियता देखाए पनि समग्र प्रणाली सुधार नभएसम्म यो कारोबार नियन्त्रणमा आउन कठिन हुने देखिन्छ । सुरक्षा विश्लेषकहरू र सरकारी संयन्त्रबीच समन्वय गरी सशक्त नीति तथा सूचना संकलनको प्रभावकारी संयन्त्र तयार गर्नुपर्ने आवश्यक देखिन्छ । २०८२ असार १९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।