बारा,१९ असार । घरेलु हिंसाले ज्यान लिने घटनाहरू पुनः दोहोरिएका छन्। बारा र जनकपुरमा दुई फरक घटनामा परिवारभित्रै भएका झगडाले हत्या सम्मको रुप लिएको छ। एकातिर श्रीमानले श्रीमतीको हत्या गरेका छन् भने अर्कातिर ज्वाइँको छुरा प्रहारबाट ससुराको मृत्यु भएको छ । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा ब’धबार दिउँसो करिब ३ः१५ बजे घरेलु विवाद चर्किँदा ३५ वर्षीय बच्चा मियाँले आफ्नै २३ वर्षीया पत्नी सहिना खातुनको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, घरायसी विषयमा भनाभन चर्किएपछि मियाँले मासु काट्ने दाब (धारिलो हतियार) प्रयोग गरी सहिनाको टाउको र घाँटीमा प्रहार गरेका थिए । घटनास्थलमै खातुनको ज्यान गएको हो । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी मटिअर्वाबाट खटिएको टोलीले अभियुक्तलाई नियन्त्रणमा लिएको छ। घटनामा प्रयोग भएको हतियार पनि बरामद गरिएको छ ।
प्रहरीका अनुसार घटनाको प्रकृति गम्भीर रहेकाले थप अनुसन्धान सुरु गरिएको छ । अभियुक्त बच्चा मियाँमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।
यसैबीच, जनकपुरधाम उपमहानगरपालिका–१५, कुवारामपुरमा ६५ वर्षीय वासुदेवप्रसाद विमलको आफ्नै ज्वाइँको छुरा प्रहारबाट मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार, विमलमाथि छुरा प्रहार गर्ने व्यक्ति जनकपुरधाम–२१, कुर्थाका ४८ वर्षीय बेचन महासेठ हुन्। प्रारम्भिक अनुसन्धान अनुसार, ससुरा–ज्वाइँबीच लामो समयदेखि जग्गासम्बन्धी विवाद चलिरहेको थियो । बुधबार बिहान करिब १० बजे विवाद उत्कर्षमा पुग्दा महासेठले छुरा प्रहार गरेका थिए। गम्भीर घाइते विमललाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो, जहाँ साढे १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार घटना लगत्तै आरोपित फरार भएका छन् । उनको खोजी तथा थप अनुसन्धान भइरहेको छ ।
बाराका बच्चा मियाँले पत्नीको हत्या गर्नुहोस् वा जनकपुरका महासेठले ससुराको ज्यान लिनुहोस्— दुवै घटनाले हाम्रो समाजमा परिवारभित्र बढ्दै गएको हिंसा र असहिष्णुतालाई उजागर गर्छ । प्रेम, भरोसा र सहमतिमा टिक्ने परिवार संस्था पछिल्ला दिनमा आक्रोश, असहिष्णुता र विवादको थलो बन्दै गएको चिन्ताजनक तस्वीर यस्ता घटनाबाट देखिन्छ ।
विशेषज्ञहरूका अनुसार, पारिवारिक मनोविज्ञान, संवादको अभाव, र सम्पत्ति सम्बन्धी विवादहरू समयमा सम्बोधन नभए हिंसात्मक मोड लिन सक्छन् । प्रहरी र सामाजिक संस्थाहरूले घरेलु हिंसाका घटनाहरूमा चाँडो गर्न सके मात्रै यस्ता घटनाहरू घट्नबाट रोकिन सक्छन् । २०८२ असार १९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।