गौर,२० असार । रौतहटलगायत मधेसका सीमावर्ती भारतीय बजारमा अहिले नेपाली रुपैयाँको चाङ लागेको खुलासा भएको छ । पछिल्लो समय नेपाल प्रहरी र सशस्त्र प्रहरीले ’श्रोत नखुलेको’ भन्दै बरामद गर्दै आएका नगद रकमहरू यही भारतीय बजारमा जम्मा गरिएको नेपाली रुपैयाँ भएको जानकारहरूको दाबी छ ।
गौर, गरुडा, चन्द्रनिगाहपुर, कटहरिया, मौलापुर लगायतका सीमावर्ती नेपाली बजारमा व्यापार गर्ने व्यापारीहरू भारतीय बजारमा सामान आयात गर्दा भारतीय मुद्रा (भारु) आवश्यक पर्छ । तर, वैदेशिक मुद्राको सञ्चार वैधानिक बैंकिङ प्रणालीमार्फत गर्नुपर्दा एकातर्फ झन्झटिलो प्रक्रिया अर्कोतर्फ कमीशन लाग्ने भएकाले व्यापारीहरूले भरियाको सहारा लिँदै ’हातमा हात’ नगद कारोबार गर्न थालेका छन् ।
गौरका एक व्यापारीले बताएअनुसार, यसअघि भारतीय व्यापारीहरूले नेपाली युवालाई एक लाख रुपैयाँ भारतीय बजारमा पु¥याएबापत पाँच सयसम्म पारिश्रमिक दिने गर्थे । तर हाल सो दर घटाएर एक सय रुपैयाँ पु¥याइएको छ । “सस्तोमा काम गर्ने भरियाको संख्या बढ्दै गएपछि मूल्य घटेको हो“, व्यापारीको भनाइ छ ।
यसै सन्दर्भमा मंगलबार दिउँसो गौर भन्सार कार्यालय अगाडि सशस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय अनुसन्धान विभागका पूर्वकर्मचारी गौर नगरपालिका–३ निवासी जितेन्द्र राउत रहेको सशस्त्र प्रहरी बल नम्बर ११ गणले जनाएको छ ।
भारतबाट नेपालतर्फ बिआर ३० एल ६९४७ नम्बरको मोटरसाइकलमा सवार भई आउँदै गरेका राउतको चेकजाँच गर्ने क्रममा हेलमेटभित्र लुकाइराखिएको रकम फेला परेको थियो । प्रारम्भिक अनुसन्धानमा उनले पनि सीमापार भरियाको रूपमा काम गर्दै आएको स्वीकारेका छन् । सशस्त्र प्रहरी स्रोतका अनुसार, पछिल्लो समय सीमामा यस्ता भरिया गतिविधि अत्यन्त मौलाएका छन् । वैध माध्यम छोडेर सस्तो र सजिलो उपायको रूपमा प्रयोग गरिने यस्ता भरिया प्रायः गौर, बैरगनिया, घोडासान, बंकुल, छौडाडाँडालगायत क्षेत्रका युवा हुने गरेका छन् ।
भारतीय बजारमा जम्मा हुने नेपाली रुपैयाँलाई त्यहाँको मनी चेन्जरमार्फत भारुमा परिवर्तन गरिन्छ । तर बैंकमार्फत रकम साट्दा सरकारी प्रक्रिया लामो र लागत बढी पर्ने भएपछि व्यापारीहरूले जोखिम मोलेर भए पनि यस्ता भरिया प्रयोग गर्न थालेको सुरक्षा निकायको विश्लेषण छ । प्रहरीले पछिल्लो समय ’स्रोत नखुलेको’ भन्दै विभिन्न स्थानबाट लाखौँ नगद रकम नियन्त्रणमा लिएको छ । तीमध्ये अधिकांश पैसा सीमापार पठाइएका रकम भएको र सशस्त्र प्रहरीले सीमामा चेकिङ कडा बनाएपछि क्रमशः यस्तो कारोबार भण्डाफोर हुँदै गएको सुरक्षा स्रोत बताउँछ ।
स्रोत अनुसार, सीमामा यस्तो कार्य रोक्न सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा अनुसन्धान निकायहरू अझ कडाइका साथ परिचालन हुने भएका छन् । २०८२ असार २० गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।