रौतहट — रौतहटको चन्द्रपुर नगरपालिकामा लम्पी स्कीन रोगको जोखिम देखिएको छ । चन्द्रपुर–८ मरधरमा एक गाईमा लम्पी स्कीन रोग देखिएपछि पशु सेवा कार्यालय चन्द्रपुरले पशुपालक किसानहरूलाई सतर्क रहन आग्रह गरेको हो ।
पशु सेवा कार्यालय चन्द्रपुरका प्रमुख डा. सुबोल चौधरीका अनुसार रोग लागेका गाईबाट नजिकका चौपायामा सर्ने खतरा रहेकाले गम्भीर रुपमा सतर्कता अपनाउन जरुरी छ । डा. चौधरीले रोग देखिएको गाईलाई अलग्गै राख्न, गोठ सरसफाइमा विशेष ध्यान दिन र आवश्यक खोप तथा औषधिको व्यवस्था गर्न किसानहरूलाई सुझाव दिएका छन् ।
सर्लाहीको लालबन्दी नगरपालिकामा लम्पी स्कीन रोग पुनः देखिएको छ । लालबन्दी–८ र लालबन्दी–१७ का दुई किसानका गाईमा लम्पी स्कीनको सङ्क्रमण पुष्टि भएको हो ।
लालबन्दी नगरपालिका पशु सेवा शाखाका प्रमुख तथा पशु विकास अधिकृत डा. विमल श्रेष्ठका अनुसार लालबन्दी–८ मा ब्याउने गाई र लालबन्दी–१७ मा बाच्छीमा लक्षण देखिएको छ । “फोका आउने, उच्च ज्वरो आउने, र घाँस नखाने लक्षण देखिएका छन्,” डा. श्रेष्ठले जानकारी दिनुभयो ।
उनका अनुसार दुई वर्षअघि नगरभित्र ६ हजार गाई–भैंसीलाई खोप दिइएको थियो तर अहिले रोग देखिएका गाई छुटेका थिए । हाल पुनः रोग देखिएपछि छेउछाउका चौपायामा खोप लगाउने तयारी भइरहेको डा. श्रेष्ठले बताए ।
लम्पी स्कीन संक्रमित गाईलाई झिँगा वा भुसुनाले टोकेर अन्य गाई–भैंसीमा पनि रोग फैलन सक्ने भएकाले गोठको सरसफाइ, चुना र फिनेल छर्ने, संक्रमित चौपायालाई अलग राख्ने र पशु प्राविधिकको सल्लाहमा उपचार गर्ने सुझाव दिइएको छ । २०८२ असार २० गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।