गरुडा, गरुडा नगरपालिकाले श्री नमुना माध्यमिक विद्यालय, गरुडामा अध्ययनरत गरिब, विपन्न तथा जेहेन्दार २२ जना छात्रालाई साइकल वितरण गरेको छ। कक्षा ८ मा अध्ययनरत ती छात्राहरूलाई विद्यालय आउजाउमा सहजता मिलोस् भन्ने उद्देश्यसहित साइकल प्रदान गरिएको हो।

नगर प्रमुख कन्थमुनी प्रसाद जयसवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर शिक्षा शाखाका प्रतिनिधि, विद्यालय प्रशासन, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नगरप्रमुख जयसवालले शैक्षिक पहुँचमा समानता ल्याउन तथा छात्राहरूको नियमित उपस्थिति र आत्मविश्वास अभिवृद्धि गर्न साइकल वितरणले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भने, “शिक्षा सबैको अधिकार हो। दैनिक आवतजावतमा समस्या भोगिरहेका विद्यार्थीलाई सहयोग पुर्‍याउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछन्।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा अभिभावकहरूले पनि नगरपालिकाको उक्त पहलको खुलेर प्रशंसा गरेका छन्।

साइकल पाएपछि विद्यार्थीहरूमा उत्साह थपिएको छ। उनीहरूले विद्यालय आउन सजिलो हुने भन्दै आगामी दिनमा अझ बढी मन लगाएर पढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।