काठमाडौँ, १७ असोज ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँले असोज १७ गतेदेखि २० गतेसम्म काठमाडौँ उपत्यकामा भारी वर्षा हुने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान तथा प्राप्त जानकारीका आधारमा सो अवधिमा बाढी, पहिरो, भू–स्खलन जस्ता विपद् आउन सक्ने भन्दै आम नागरिकलाई सचेत रहन अनुरोध गरिएको हो।
कार्यालयले विशेष गरी जोखिमयुक्त स्थानमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन र अनावश्यक बाहिर नजान आग्रह गरेको छ। साथै काठमाडौँ भित्रिने र बाहिरिने मुख्य राजमार्ग प्रयोग गर्दा सम्भावित अवरोधका कारण यात्रा नगर्न सिफारिस गरिएको छ।
विपद्को समयमा तत्काल उद्धार र सहायताको आवश्यकता परेमा जिल्ला प्रहरी परिसर, काठमाडौँ (फोन नं. ०१–४४९५१६७, ९८५१२८२०२६, ०१–५३१७०७५), सशस्त्र प्रहरी बल नेपाल (९८५१२७०३२३), सैनिक टेलिफोन नं. ०१–४२७५३१५ तथा जिल्ला आपतकालीन कार्य संचालन केन्द्र (९८५१२२२३७५) मा सम्पर्क गर्न सकिने जनाइएको छ।
प्रशासनले नागरिकलाई अनावश्यक जोखिमपूर्ण क्षेत्रमा नजान र सुरक्षित स्थानमा बस्न आग्रह गर्दै “विपद् व्यवस्थापनमा सबैको सहकार्य जरुरी छ” भन्ने सन्देश समेत दिएको छ।








