काठमाडौं – काठमाडौं महानगरपालिकाले सरकारी जग्गा खाली गर्न सात दिने सूचना जारी गरेपछि सुकुम्बासीहरूमा त्रास फैलिएको छ। मेयर बालेन साहले “नसुने डोजर चलाउँछु” भन्ने चेतावनी दिएपछि राजधानीका सुकुम्बासीहरू आन्दोलनको तयारीमा देखिएका छन्।
यसैबीच आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह सुकुम्बासीहरूको समर्थनमा खुलेका छन्। उनले काठमाडौं महानगरपालिकाको चेतावनीलाई “डोजर आतंक” भन्दै विरोध गरेका छन्।
अध्यक्ष साहले भने, “कानून विपरीत रूपमा, जनताको वासस्थानमाथि डोजर चलाउने काम स्वीकार्य छैन। सुकुम्बासीहरूको अधिकार र मानवताको रक्षा गर्न आजपा सधैं अग्रपंक्तिमा रहनेछ।”
उनले महानगरले गर्न खोजेको जस्तोसुकै गैरकानुनी कार्यको प्रतिकार गरिने चेतावनी पनि दिएका छन्।
काठमाडौं महानगरपालिकाले हालै महानगरअन्तर्गतका विभिन्न स्थानमा रहेका सरकारी जग्गा कब्जा गरी बनाइएका टहराहरू खाली गर्न सात दिनको अल्टिमेटम दिएको थियो। महानगरका मेयर बालेन साहले सूचना उल्लंघन गरे डोजर लगाएर हटाइने बताएका छन्।
यस घटनाले अहिले राजधानीमा राजनीतिक र सामाजिक तहमा चर्को बहस उत्पन्न गरेको छ — एकातिर मेयर बालेनको “शहर व्यवस्थापन अभियान” र अर्कोतिर सुकुम्बासीहरूको “जीवन रक्षा आन्दोलन” आमनेसामने आएका छन्।








