रौतहट १० मङ्सिर ।
सिंहदरबारभित्र र आसपास पछिल्ला दिनहरूमा जेन–जी आन्दोलनका नाममा भइरहेको हुलदंगा, होहल्ला र धरपकडमा सहभागी समूहको नेतृत्व पूर्वमन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहका छोरा विकेश साहले गरिरहेको प्रहरीले सार्वजनिक रूपमा जनाएको छ।
प्रहरीका अनुसार पछिल्ला गतिविधिमात्र होइन, भदौ २३ र २४ मा संसद भवनदेखि एमाले केन्द्रीय कार्यालयसम्म पुगेका आगजनी तथा तोडफोडमा समेत विकेश साह प्रमुख रूपमा संलग्न देखिएका छन्।
सिंहदरबार सुरक्षामा खटिएको प्रहरी गणले माथिल्लो निकायमा पठाएको प्रतिवेदनअनुसार विकेश साह, मिराज ढुंगाना, सुप्रिया शाहीलगायतले विभिन्न समूह बनाएर सरकारी क्षेत्र लक्षित गर्दै नियोजित हुलदंगा गर्दै आएका छन्। सोमबार र मंगलबार सिंहदरबारको मुख्य प्रवेशमार्गमा प्रहरीमाथि दुर्व्यवहार र जबर्जस्ती प्रवेश प्रयास पनि यही समूहले गरेको उल्लेख छ।
भदौ २४ को दंगामा प्रत्यक्ष सहभागिता, फोटो–भिडियो प्रहरीले सुरक्षित राख्यो
अपराध महाशाखाका अनुसार विकेश साह भदौ २४ का हिंसात्मक घटनामा ‘फ्रन्टलाइन’मा देखिएका छन्। संसद भवन, सिंहदरबार, एमाले केन्द्रीय कार्यालय तथा भैंसेपाटीस्थित मन्त्री निवासलगायत स्थानमा गरिएको आगजनीमा उनी संलग्न रहेको प्रमाणसहित भिडियो–फोटो प्रहरीले संकलन गरेको छ। विकेशले केही स्थानमा आफूले नै आगो लगाइँदा खिचिएका दृश्यहरू सामाजिक सञ्जालमा पोस्ट गरेको तर धेरैजसो पछि हटाएको र ती सबै सामग्री प्रहरीसँग सुरक्षित रहेको महाशाखाको दाबी छ।
अनुसन्धानका क्रममा विकेशले जेन–जी आन्दोलनका क्रममा काठमाडौं महानगरपालिकाबाट हटाइएका कबाडी मजदूर तथा बेरोजगार युवालाई जम्मा गरी आन्दोलनलाई हिंसात्मक दिशातर्फ धकेलेको संकेत मिलेको बताइएको छ।
प्रभु साहको राजनीतिक पृष्ठभूमि र परिवारको सक्रियता
विकेशका पिता प्रभु साह पूर्वमाओवादी नेता भई पटक–पटक सांसद र मन्त्री भइसकेका छन्। नेकपा विभाजनपछि केही समय एमालेमा बसेका उनी २०७९ मा सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार बन्दै पुनः सांसद बनेका थिए।
प्रभु साहकी पत्नी रानीकुमारी साह मौलापुर नगरपालिकाकी मेयर बनेका दुई कार्यकाल पूरा गरिसकेकी छन्। विकेशले केही महिना अघि पिता प्रभु साहलाई ‘मुख्य अतिथि’ बनाएर जेन–जीको भ्रातृ संगठन गठन गरेको उल्लेखसमेत प्रहरीको टिप्पणीमा छ।
आन्दोलनभित्रैबाट असन्तुष्टि : ‘नेपो किड्सले हाइज्याक गरे’
जेन–जी आन्दोलनका केही अगुवाहरूले विकेश साहप्रति असन्तुष्टि जनाउँदै उनलाई ‘नेपो किड्स’ भन्दै आन्दोलनलाई व्यक्तिगत र राजनीतिक स्वार्थका लागि प्रयोग गरिएको आरोप लगाएका छन्।
केही अगुवाहरूले प्रधानमन्त्री सुशिला कार्कीविरुद्ध अहिले भइरहेको प्रदर्शनमा समेत विकेशको भूमिका ‘शंकास्पद’ रहेको अभिव्यक्ति दिएका छन्।
सरकारको चिन्ता : जेन–जी नाममा सक्रिय सय थरी समूह
सरकारी स्रोतका अनुसार जेन–जी आन्दोलनका नाममा विभिन्न समूह सक्रिय रहेर वैधानिक मागभन्दा बाहिर गएर हुलदंगा, तोडफोड र अराजक गतिविधि गरिरहेकाले सुरक्षा निकाय आक्रान्त बनेका छन्।
प्रहरीले भदौ २४ का घटनामा विकेश साहको संलग्नताबारे प्रतिवेदन गृह मन्त्रालयमा पठाइसकेको र आवश्यक कानुनी प्रक्रिया अघि बढ्ने संकेत दिएको छ।








