रौतहट,१२ पुस ।
रौतहटको कटहरिया नगरपालिका–९ डुमरिया स्थित ज्योति डिस्टिलरी प्रा.लि. मा आज बिहान बोवाईलर मेसिन विस्फोट हुँदा एक कामदारको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
बिहान करिब ८:३० बजे डिस्टिलरीमा रहेको बोवाईलर मेसिन अचानक पड्किँदा सो दुर्घटना भएको हो । घटनाको जानकारी बिहान ९ बजे इलाका प्रहरी कार्यालय कटहरियामा प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
इलाका प्रहरी कार्यालय कटहरियाबाट प्रहरी नायब निरीक्षक धर्मेन्द्र पौडेल, इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी नायब उपरीक्षक शंकर प्रसाद आचार्य तथा इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद यादवको कमाण्डमा खटिएको संयुक्त टोलीले घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कटहरिया नगरपालिका–८ निवासी करिब ४५ वर्षीय लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको छ । मृतकको शव घटनास्थलमै रहेको र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
घाइते हुनेहरूमा सोही डिस्टिलरीमा कार्यरत
करिब ४५ वर्षीय रहमोद आलम, ३५ वर्षीय प्रमजित यादव,
५१ वर्षीय जगदीश यादव (हातखुट्टा जलेको, अवस्था गम्भीर), ५५ वर्षीय बिगन यादव (हातखुट्टा जलेको, अवस्था गम्भीर), ४० वर्षीय कैलाश माली (मध्यम अवस्था)
र गरुडा नगरपालिका–५ महमदपुर निवासी करिब ४० वर्षीय मुकेश यादव (हातखुट्टा जलेको, अवस्था गम्भीर) रहेका छन्।
विस्फोटका कारण डिस्टिलरी परिसरमा रहेको भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । घटनास्थल इलाका प्रहरी कार्यालय कटहरियाबाट करिब ६ किलोमिटर टाढा पर्दछ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, आम जनता पार्टीका अध्यक्ष प्रभु साहले डिस्टिलरी सञ्चालकको लापरवाहीका कारण यस्तो भयावह दुर्घटना भएको दाबी गर्दै दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै श्रमिकको ज्यान जाने गरी भएको लापरवाहीलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।
घटनाले औद्योगिक सुरक्षामा देखिएको कमजोरीलाई पुनः उजागर गरेको भन्दै स्थानीयवासीले समेत निष्पक्ष छानबिन र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् ।