रौतहट,१८ पुस ।
चन्द्रपुर नगर उद्योग वाणिज्य संघको हालै सम्पन्न साधारण सभामा संघको विधानमा रहेका केही व्यवस्थाहरू समयानुकूल संशोधन तथा पुनर्लेखन गर्नुपर्ने आवश्यकता औँल्याउँदै व्यवसायीहरूले विभिन्न सुझाव प्रस्तुत गरेका छन्।
साधारण सभामा उठेका व्यावसायिक आवाज र सुझावलाई सम्मान गर्दै सोही सभाबाट विधान पुनर्लेखन तथा सुझाव समिति गठन गरिएको संघले जनाएको छ। संघले आज एक कार्यक्रमको आयोजना गर्दै समितिका पदाधिकारी तथा सदस्यहरूलाई संस्थाको विधानको प्रतिलिपि हस्तान्तरण गरेको छ।
कार्यक्रममा विधानमा आवश्यक सुधार तथा संशोधनका विषयमा प्रत्यक्ष रूपमा व्यवसायीहरूसँग छलफल गरी सुझाव संकलन गर्दै विस्तृत प्रतिवेदन पेश गर्न समितिलाई औपचारिक रूपमा अनुरोध गरिएको छ।
विधान पुनर्लेखन सुझाव समितिको संयोजकमा राजेन्द्र तिवारी (राजु) चयन भएका छन् भने समितिका सदस्यहरूमा प्रकाश तिमल्सिना र प्रल्लाद रामुदाम रहनुभएको छ। संघले नवनियुक्त संयोजक तथा सदस्यहरूलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
संघका महासचिव दिवाकर सापकोटाले विधानलाई समयसापेक्ष, व्यवसायमैत्री र व्यवहारिक बनाउन समितिको भूमिकालाई महत्वपूर्ण बताउँदै व्यवसायी समुदायबाट सक्रिय सहभागिता र सहयोग अपेक्षा गरिएको जानकारी दिनुभयो।