वीरगन्ज, २२ पुस
बारा र पर्सा जिल्लामा लामो समयदेखि कार्यरत रहेका एक जना प्रहरी सहायक निरीक्षक (असई)सहित छ जना प्रहरीलाई आर्थिक असुलीसम्बन्धी उजुरीको छानबिनका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले तानेको छ।
सादा पोसाकमा आर्थिक असुली गरेको गुनासो आएपछि प्रहरी प्रधान कार्यालयले पुस २० गते पत्राचार गर्दै उनीहरूलाई आवश्यक सरसामग्रीसहित उपस्थित हुन निर्देशन दिएको स्रोतले जनाएको छ।
प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी सहायक निरीक्षक भुलेन्द्र गिरी, प्रहरी हवल्दार निरज सिंह तथा प्रहरी सहायक हवल्दार फिरोज मियाँलाई प्रधान कार्यालयमा बोलाइएको छ। त्यसैगरी प्रदेश प्रहरी कार्यालय वीरगन्जमा कार्यरत हवल्दार निरज कुमार यादव र वरिष्ठ हवल्दार राज मंगल सिंहलाई पनि उपस्थित हुन पत्राचार गरिएको छ।
यस्तै जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी सहायक हवल्दार मोहम्मद सदाम हुसेनलाई समेत प्रहरी प्रधान कार्यालय झिकाइएको स्रोतले जनाएको छ।
प्रहरी प्रधान कार्यालयको प्रशासन शाखाले पुस २० गतेको पत्रअनुसार पुस २१ गते उपस्थित हुने गरी पत्राचार गरेको बताइएको छ। लामो समयदेखि एउटै जिल्लामा कार्यरत रहँदै आर्थिक कारोबारमा संलग्न भएको भन्दै उनीहरूमाथि अत्यधिक उजुरी र गुनासो परेपछि छानबिनका लागि तानिएको स्रोतको दाबी छ।
प्रहरी उपरीक्षक रविन राज मैनालीले जारी गरेको चलानी नम्बर २३८४ को पत्रमा सम्बन्धित व्यक्तिहरूबाट केही विषयमा बुझ्नुपर्ने भएकाले तोकिएको मितिमा आवश्यक सरसामग्रीसहित उपस्थित हुन भनिएको उल्लेख छ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले प्रधान कार्यालयबाट आएको पत्रअनुसार सम्बन्धित प्रहरीहरू उपस्थित भइसकेको जानकारी दिएका छन्। कुन जिल्लाबाट कति र कुन दर्जाका प्रहरी तानिएका भन्ने विस्तृत विवरण भने आफूलाई थाहा नभएको उनले बताए।








