रौतहट, २६ पुस ।
चन्द्रपुर नगरपालिका–६ निवासी बसन्त आचार्य चन्द्रपुर क्षेत्रमा चिरपरिचित सामाजिक अभियन्ता, सहकारीकर्मी तथा स्रष्टाका रूपमा परिचित नाम हुन्। सहकारी अभियानदेखि लिएर आपतकालीन रक्तदान, विपन्न बिरामीको उपचार सहयोग, सडक मानवको उद्धार, शैक्षिक गुणस्तर सुधारदेखि सामाजिक रूपान्तरणसम्मका विविध क्षेत्रमा सक्रिय आचार्य साहित्यिक सिर्जनामा समेत उत्तिकै समर्पित देखिन्छन्।
चन्द्रोदय सहकारी संस्थाका अध्यक्ष, चन्द्रपुर एकेडेमीका अध्यक्ष, रौतहट बचत संघका सचिव, राष्ट्रिय सहकारी बैंक चन्द्रपुर शाखा समन्वय उपसमिति सदस्य, नेपाल रेडक्रस सोसाइटी उपशाखा चन्द्रपुरका संचालक समिति सदस्य, आकस्मिक रक्तसञ्चार सेवा संयोजक तथा घोडीदेवी मन्दिर व्यवस्थापन समितिका सल्लाहकारलगायत जिम्मेवारी सम्हाल्दै आएका आचार्यले सबै क्षेत्रलाई समय व्यवस्थापनसहित सन्तुलित रूपमा अगाडि बढाइरहेका छन्।
“जिम्मेवारी लिएपछि कर्तव्य पालना गर्नैपर्छ, नत्र जिम्मेवारीबाट अलग हुनुपर्छ” भन्ने स्पष्ट धारणा राख्ने आचार्यको साहित्यिक यात्रा पनि निरन्तर अघि बढिरहेको छ। यसअघि उनका शब्द रचनामा आधारित रोमान्टिक तथा प्रेमभावका गीतहरू चर्चित गायक–संगीतकारको स्वर र संगीतमा भिडियोसहित सार्वजनिक भइसकेका छन्।
हालै उनले आफ्नो चौथो अडियो गीत सार्वजनिक गरेका छन्। यसपटकको गीत भने पीडा, वेदना र मातृस्मृतिले भरिएको छ। चार महिना अघि माताको देहावसानपछि मातृशोकमा रहेका आचार्यले आमाप्रतिको श्रद्धा र सम्झनालाई शब्दमा उतारेका हुन्।
“आमाको माया, आमाको दया, आमाकै सम्झना” बोलको गीतमा चर्चित गायक राम धिमालको स्वर तथा संगीत रहेको छ भने रेकर्डिङ मनोहर सुनाम र भोला पौडेलले गरेका हुन्। गीतको म्युजिक भिडियोसमेत छिट्टै सार्वजनिक गर्ने तयारीमा रहेको आचार्यले बताएका छन्।
नेपाल गीतकार संघको सदस्य बन्न कम्तीमा पाँच वटा गीत सार्वजनिक गर्नुपर्ने प्रावधानअनुसार अर्को गीत पनि चाँडै ल्याएर संघमा आबद्ध हुने तयारीमा आचार्य जुटेका छन्। ५० वर्ष नाघिसकेका आचार्य कविता, गजल तथा सामाजिक चेतनामूलक रचनाहरू सामाजिक सञ्जालमा नियमित रूपमा साझा गर्न रुचाउँछन्।
“कर्म गर्नुपर्छ, फलको आस गर्नु हुँदैन” भन्ने दर्शनमा विश्वास राख्ने आचार्य कर्मको प्रतिफल मृत्युपछि होइन, जिउँदै रहँदा नै देख्न र भोग्न पाइन्छ भन्ने तर्क गर्छन्। सेवा भाव मनभित्रबाट उत्पन्न हुने विषय भएको र सेवा आत्मसन्तुष्टिको माध्यम हो भन्ने उनको भनाइ छ।
सानो व्यवसायमा समेत संलग्न रहेका आचार्य आफ्नो पहिचान र गर्वको प्लेटफर्मका रूपमा चन्द्रपुर–४ स्थित चन्द्रोदय सहकारीलाई लिन्छन्। पितामाताको आशीर्वाद, जीवनसंगिनीको सहनशीलता, अग्रजहरूको प्रेरणा र साथीहरूको सहकार्यकै कारण आफूमा समय व्यवस्थापन र काम गर्ने ऊर्जा प्राप्त भएको उनको भनाइ छ।
अन्त्यमा आचार्यले समाजको हकहित र परिवर्तनका लागि एकल प्रयास पर्याप्त नहुने भन्दै सबैले आ–आफ्नो ठाउँबाट “होस्टेमा हैँसे” गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। आफ्ना शुभचिन्तक, श्रोता र पाठकहरूलाई आफ्नो चौथो सांगीतिक प्रयास सुनीदिनुहुन विनम्र अनुरोध गर्दै उनले निरन्तर सिर्जनामा लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।








