रौतहट,२७ पुस ।
प्रख्यात गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। दिल्लीस्थित आफ्नै निवासमा आइतबार बिहान उहाँको निधन भएको चलचित्रकर्मी राजेश घतानीले जानकारी दिनुभएको छ। तामाङको निधनको खबरसँगै नेपाली संगीत तथा फिल्म क्षेत्र शोकमा डुबेको छ।
भारतीय चर्चित गायन प्रतियोगिता इन्डियन आइडल जितेर अन्तर्राष्ट्रिय स्तरमा चिनिनु भएका प्रशान्त तामाङ नेपालमा पनि अत्यन्त लोकप्रिय कलाकारका रूपमा स्थापित हुनुहुन्थ्यो। उहाँले गाएका थुप्रै नेपाली गीतहरू श्रोतामाझ अत्यन्त रुचाइएका छन्। सरल स्वर, भावनात्मक प्रस्तुति र मौलिक शैलीका कारण तामाङले छोटो समयमै ठूलो दर्शक–श्रोता वर्ग बनाउनु भएको थियो।
गायनसँगै अभिनय क्षेत्रमा पनि सक्रिय रहनु भएका तामाङले बलिउड फिल्म ‘ब्याटल अफ गलवान’ मार्फत भारतीय चलचित्र क्षेत्रमा डेब्यू गर्नुभएको थियो। सो फिल्ममा बलिउड अभिनेता सलमान खानसँग काम गर्दै उहाँले अन्तर्राष्ट्रिय फिल्म उद्योगमा आफ्नो पहिचान बनाउने प्रयास गर्नुभएको थियो।
प्रशान्त तामाङ केही समयदेखि भारतमै बसोबास गर्दै संगीत, अभिनय तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा सक्रिय रहँदै आउनु भएको थियो। उहाँको असामयिक निधनले नेपाली कला, संस्कृति र संगीत क्षेत्रमा ठूलो क्षति पुगेको कलाकार तथा शुभेच्छुकहरूले बताएका छन्।
तामाङको निधनको कारणबारे विस्तृत जानकारी सार्वजनिक भइसकेको छैन। उहाँको पार्थिव शरीर र अन्त्येष्टिसम्बन्धी कार्यक्रमबारे परिवार तथा नजिकका आफन्तको निर्णयपछि जानकारी गराइने बताइएको छ।
उहाँको निधनप्रति नेपाली कला क्षेत्रका कलाकार, संगीतप्रेमी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।








