रौतहट, २१ फागुन ।
रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार किरण साहले मतदानमा धाँधली भएको आरोप लगाउँदै राजपुर र इशनाथ नगरपालिकाका ८ वटा वडामा पुनः मतदान गरिनुपर्ने माग गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीको तारा चुनाव चिन्हबाट उम्मेदवार बनेका साहले मतदान केन्द्रहरूमा अनियमितता भएको दाबी गर्दै आफ्ना प्रतिनिधिहरूलाई समेत फिर्ता बोलाउने चेतावनी दिएका छन्।
साहले केही मतदान केन्द्रमा अर्काको नाममा मत खसाल्ने तथा अवैध गतिविधि भएको आरोप लगाएका छन्। उनले प्रहरी प्रशासनले समेत घटनाप्रति बेवास्ता गरेको गुनासो गर्दै यसबारे निर्वाचन कार्यालयमा धर्ना दिनेसमेत बताएका छन्।
“अर्काको नाममा मत खसाल्ने काम भइरहेको छ, तर प्रहरी मुकदर्शक भएर बसेको छ,” साहले भने, “यस विषयमा ध्यानाकर्षण गराउन म निर्वाचन कार्यालयमै धर्ना बस्ने तयारीमा छु।”
उनले विशेषगरी राजपुर नगरपालिका र इशनाथ नगरपालिकाका विभिन्न मतदान केन्द्रहरूमा धाँधली भएको भन्दै ती स्थानका ८ वटा वडामा पुनः मतदान गरिनुपर्ने माग अघि सारेका हुन्। साहका अनुसार मतदान प्रक्रिया निष्पक्ष नभएकोले मतदाताको वास्तविक मताधिकार सुरक्षित गर्न पुनः मतदान आवश्यक रहेको छ।
यता जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले भने मतदान समग्रमा शान्तिपूर्ण रूपमा भइरहेको बताएका छन्। उनका अनुसार केही स्थानमा सामान्य विवाद भए पनि धाँधली भएको पुष्टि हुने खालका कुनै गम्भीर घटना नभएको जानकारी प्राप्त भएको छ।
“कुनै–कुनै ठाउँमा सामान्य विवाद भएको खबर आएको छ, तर धाँधली भएको पुष्टि हुने तथ्य अहिलेसम्म प्राप्त भएको छैन,” भुसालले भने, “समग्रमा मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ।”
यसैबीच उम्मेदवार साहले सामाजिक सञ्जालमार्फत आफू नेपाली कम्युनिस्ट पार्टीबाट अलग भएकोसमेत घोषणा गरेका छन्। उनले पार्टी परित्यागको निर्णय सार्वजनिक गरेपछि यसले क्षेत्रीय राजनीतिक वृत्तमा थप चर्चा सिर्जना गरेको छ।
आज बिहान ७ बजेदेखि सुरु भएको मतदान दिउँसो २ बजेर ४५ मिनेटसम्म आइपुग्दा करिब ४५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिएका छन्। उनका अनुसार जिल्लाभर मतदान प्रक्रिया अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको छ।
चार निर्वाचन क्षेत्र रहेको रौतहट जिल्लामा कुल ४ लाख ३६ हजार ६११ जना मतदाता रहेका छन्। जिल्लाभर १५२ वटा अतिसंवेदनशील मतदान केन्द्र तोकिएको छ भने सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ। यस निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १४३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्।
निर्वाचनको क्रममा केही स्थानमा आएका विवाद र आरोप–प्रत्यारोपका बीच पनि अधिकांश मतदान केन्द्रमा मतदाताको सहभागिता उत्साहजनक देखिएको निर्वाचन अधिकारीहरूले बताएका








