रुपेन्द्र पटेल
रौतहट, २६ फागुन। रौतहटको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित टोलमा दुई महिलासहित ६ जनामाथि सामूहिक आक्रमण भएको घटना बाहिरिएको छ । आक्रमणबाट दुई महिलासहित ६ जना घाइते भएका छन् ।
पीडित पक्षले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्नुको सट्टा प्रहरीले उल्टै पीडितमाथि नै अन्याय गरेको आरोप लगाएका छन्। इलाका प्रहरी कार्यालय विजयपुर–लक्ष्मिनियाका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवको कार्यशैलीप्रति स्थानीयले गम्भीर प्रश्न उठाएका छन् ।
घटना गत फागुन १९ गते होली पर्वको पूर्वसन्ध्या तथा प्रतिनिधिसभा निर्वाचन हुनुभन्दा दुई दिनअघि भएको बताइएको छ। घटनाको एक सातासम्म पनि कुनै कारबाही नभएपछि पीडित पक्षले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएका हुन् ।
पत्रकार सम्मेलनमा पीडित बिर्जा राम चमारले सामान्य विवादका क्रममा स्थानीय भुनेश्वर यादव, पसिन्द्र यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नबिन कुमार यादव र जयप्रकाश यादवसहितको समूहले लाठी–भाटा लिएर फागुन १९ गते साँझ करिब ६ बजे घरभित्र प्रवेश गरी कुटपिट गरेको आरोप लगाउनुभयो ।
उहाँका अनुसार सो समूहले घरभित्र प्रवेश गरेर श्रीमती, छोरीसहित ६ जनालाई मरणासन्न हुने गरी कुटपिट गर्नुका साथै घरका सामान तोडफोड गरेको थियो। साथै घरमा रहेका दुईवटा मोबाइलसमेत फोडिएको उहाँले बताउनुभयो।
कुटपिटबाट ५५ वर्षीय बिर्जा राम चमारको ढाड र घाँटीमा चोट लागेको छ भने उहाँकी श्रीमती ५० वर्षीया गायत्री देवी रामको शरीरभरि निलडाम देखिएको छ। त्यस्तै उहाँका छोरा राजकुमार रामको टाउकोमा तीनवटा टाँका लागेको छ भने सुब्बा रामकी १६ वर्षीया छोरीको टाउको फुटेर सात टाँका लागेको बताइएको छ।
यसैगरी ललन राम चमारको अनुहार तथा शरीरभरि निलडाम देखिएको छ भने नरेश राम चमारको टाउको र आँखामा चोट लागेको तथा शरीरका विभिन्न भागमा घाउचोट लागेको पीडित पक्षले जनाएको छ।
पीडितका अनुसार फागुन १९ गते साँझ करिब ५ बजे दुई पक्षबीच सामान्य भनाभन भएको थियो। सो क्रममा विपक्षी समूहले बिर्जा रामका छोरा राजकुमार रामलाई घरभन्दा केही पर कुटपिट गरेको र प्रतिवाद गर्दा विपक्षी पक्षका एकजनाको टाउको सामान्य रूपमा फुटेको बताइएको छ।
यसको करिब एक घण्टापछि बेलुकी ६ बजे विपक्षीहरू लाठी–भाटा लिएर घरमै प्रवेश गरी सामूहिक आक्रमण गरेको पीडित बिर्जा राम चमारले बताउनुभयो।
उहाँका अनुसार घटनापछि इलाका प्रहरी कार्यालय सन्तपुरबाट पुगेको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गर्नुको सट्टा आफू र आफ्ना छोरालाई नै पक्राउ गरी हथकडी लगाएर लगेको थियो। उहाँहरूलाई थुनामा राखेर कुटपिटसमेत गर्दै इलाका प्रहरी कार्यालय विजयपुर पठाइएको आरोप छ।
स्थानीय समाजसेवी विजय यादवका अनुसार कुटपिट गर्ने व्यक्तिलाई पक्राउ गर्नुको सट्टा पीडितलाई नै पक्राउ गरेपछि उहाँले इन्स्पेक्टर सुरेन्द्र यादवलाई फोन गरी छोड्न आग्रह गर्नुभएको थियो। “तर उहाँले कुरा नसुनेपछि मैले रौतहटका प्रहरी प्रमुख (एसपी) लाई फोन गरेँ। त्यसपछि मात्रै बिर्जा राम र उहाँका छोरालाई थुनामुक्त गरिएको हो,” उहाँले बताउनुभयो।
पीडित पक्षका अनुसार घटनाको एक सातासम्म पनि जाहेरी दर्ता भएको छैन। आइतबार र सोमबार इलाका प्रहरी कार्यालय विजयपुरमा गई जाहेरी दर्ताको आग्रह गर्दा पनि इन्स्पेक्टर यादवले वास्ता नगरेको र उल्टै थर्काउने गरेको आरोप लगाइएको छ।
पत्रकार सम्मेलनमा पीडित बिर्जा राम चमारले आँसु झार्दै न्यायका लागि पहल गरिदिन आग्रह गर्नुभयो।
यस विषयमा इन्स्पेक्टर सुरेन्द्र यादवले विपक्षी पक्षका एकजनाको टाउको फुटेको र निर्वाचनको संवेदनशीलता भएकाले उहाँहरूलाई नियन्त्रणमा लिइएको बताउनुभयो । पछि बिर्जा रामको परिवारका सदस्य पनि घाइते भएको जानकारी पाएपछि सोही रात जिम्मा–जमानिमा बाबु–छोरालाई छाडिएको उहाँले जानकारी दिनुभयो । निर्वाचनका कारण कारबाही प्रक्रियामा केही ढिलाइ भएको स्वीकार गर्दै उहाँले घटनाबारे छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताउनुभयो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालले घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिइएको बताउनुभयो । “पीडितले न्याय पाउनेछन् र दोषीलाई कारबाही हुनेछ,” उहाँले भन्नुभयो ।
स्थानीय बासिन्दाका अनुसार इन्स्पेक्टर यादव इलाका प्रहरी कार्यालय विजयपुरको प्रमुखका रूपमा आएदेखि सो क्षेत्रमा अराजकता बढेको गुनासो गरिएको छ । केही समयअघि उहाँकै मिलेमतोमा विजयपुर क्षेत्रभित्र लाखौँ रुपैयाँको कौडा जुवा खेलाइएको आरोपसमेत स्थानीयले लगाएका छन् ।
स्थानीयका अनुसार उहाँको कार्यकालमा साना घटनालाई ठूलो बनाइ आर्थिक चलखेल हुने गरेको तथा विभिन्न राजनीतिक प्रभावका कारण दलित परिवारसहित धेरैलाई न्यायबाट वञ्चित गरिएको गुनासोसमेत उठ्दै आएको छ ।








