रौतहट, — सोमबार साँझ आएको भीषण हावाहुरीका कारण रौतहटको चन्द्रपुर नगरपालिकामा ठूलो क्षति पुगेको छ। विशेषगरी वडा नम्बर ३ मा लगाइएको करिब डेढ करोड रुपैयाँ बराबरको केरा खेती पूर्ण रूपमा नष्ट हुँदा किसानहरू गम्भीर संकटमा परेका छन्।
चन्द्रपुर नगरपालिका–३ स्थित गैडाटार गाउँ केरा उत्पादनको मुख्य क्षेत्रका रूपमा परिचित रहेको छ। यहाँका अधिकांश किसानले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन्। तर सोमबार आएको तीव्र हावाहुरीले हजारौँ बोट केरा ढालिदिँदा वर्षभरिको मेहनत एकैछिनमा नष्ट भएको स्थानीय किसान दिनेश न्यौपानेले बताए। उनका अनुसार लगानी, श्रम र समय सबै गुम्दा किसानहरू आर्थिक रूपमा धराशायी हुने अवस्थामा पुगेका छन्।
स्थानीय किसान बसन्त लामाले केरा खेती गर्ने किसानहरूले वर्षेनी प्राकृतिक विपत्तिको सामना गर्नुपरेको बताए। “हावाहुरी, रोग र कहिलेकाहीँ जंगली जनावरको आक्रमणले समेत खेती नष्ट हुन्छ, तर बिमा नहुँदा सबै क्षति आफैंले बेहोर्नुपर्छ,” उनले भने। उनका अनुसार केरा खेतीको बिमा गरिनुपर्ने माग पटक–पटक उठाइए पनि सम्बन्धित निकाय र बीमा कम्पनीहरूले चासो नदेखाउँदा किसानहरू निराश छन्।
किसानहरूले केरा खेतीको बिमा व्यवस्था गर्नुपर्ने माग दोहोर्याएका छन्। तर बीमा कम्पनीहरूले जोखिम बढी हुने भन्दै केरा खेतीको बिमा गर्न आनाकानी गर्दै आएको उनीहरूको गुनासो छ। यसले गर्दा हरेक वर्ष प्राकृतिक प्रकोप आउँदा किसानहरू थप समस्यामा पर्ने गरेका छन्।
उक्त हावाहुरीका कारण केरा मात्रै नभई मकैबालीमा समेत क्षति पुगेको छ। खेतमा लगाइएको मकै ढलेर नष्ट हुँदा थप आर्थिक नोक्सानी भएको किसानहरूले बताएका छन्।
स्थानीय तह तथा सम्बन्धित निकायले क्षतिको यथार्थ विवरण संकलन गरी राहत तथा दीर्घकालीन समाधानका लागि पहल गर्नुपर्ने माग किसानहरूले गरेका छन्।








