रौतहट,३ चैत । रौतहट–बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट नेपालतर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको काँचो केरा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बरामद गरेको छ। सोमबार राति करिब साढे ९ बजे सञ्चालन गरिएको विशेष अपरेशनमा १८६० कार्टुन काँचो केरा बरामद गर्दै तस्करीको प्रयास विफल पारिएको हो।

एसएसबीको ७१ औँ बटालियनको इन्टेलिजेन्स शाखाबाट प्राप्त गोप्य सूचनाका आधारमा आईएनबी सीमा स्तम्भ नम्बर ३५६–३ नजिक पिठवा गाउँ क्षेत्रमा सुरक्षा टोलीले निगरानी बढाएको थियो। सो क्रममा केही व्यक्तिहरू टाउकोमा कार्टुन बोकेर तथा मोटरसाइकल प्रयोग गरी भारतबाट नेपालतर्फ सामान ओसार्दै गरेको देखिएको बताइएको छ।

सुरक्षा टोलीले उनीहरूलाई रोक्न खोजेपछि तस्करहरूले बोकेका कार्टुनहरू बाटोमै फालेर अँध्यारोको मौका छोप्दै फरार भएका थिए। त्यसपछि गरिएको खोजतलासका क्रममा विभिन्न स्थानमा काँचो केराले भरिएका कार्टुनहरू फेला परेका थिए। प्रारम्भिक खोजीमा ४३ कार्टुन बरामद भएको थियो।

पछि थप खोजी गर्दा पिठवा गाउँस्थित एउटा आँपको बगैंचाबाट ठूलो परिमाणमा कार्टुन भेटिएको भारतीय सुरक्षा स्रोतले जनाएको छ। त्यसैगरी सोही गाउँको बन्सवाडी क्षेत्रमा त्रिपालले छोपेर लुकाइराखिएको अवस्थामा समेत कार्टुन फेला परेको थियो।

एसएसबी ७१ औँ बटालियन मुख्यालय पिपराकोठिका सहायक कमाण्डेन्ट विश्वजित तिवारीका अनुसार आँपको बगैंचाबाट ७०७ कार्टुन र बन्सवाडी क्षेत्रबाट १११० कार्टुन गरी कुल १८६० कार्टुन काँचो केरा बरामद गरिएको हो। प्रत्येक कार्टुनको तौल करिब १३.५ किलोग्राम रहेको उनले जानकारी दिए।

बरामद गरिएको केराको स्वामित्वबारे स्थानीय स्तरमा सोधपुछ गरिए पनि कसैले आफ्नो भएको दाबी नगरेको बताइएको छ। छिट्टै नासिने प्रकृतिको खाद्यवस्तु भएकाले उच्च अधिकारीलाई जानकारी गराई आवश्यक कानुनी कारबाहीका लागि झरोखर प्रहरी चौकीलाई जिम्मा लगाइएको एसएसबी स्रोतले जनाएको छ।

सीमावर्ती क्षेत्रमै भण्डारण गरेर काठमाडौं लगायतका सहरमा पठाउने योजना रहेको उक्त केराको खेप एसएसबीले नियन्त्रणमा लिएपछि तस्करहरूलाई ठूलो आर्थिक क्षति पुगेको बताइएको छ।