रौतहट । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सवारी साधनमा प्रयोग भइरहेका अव्यवस्थित नम्बर प्लेट हटाएर कानुनअनुसारको नम्बर प्लेट अनिवार्य गर्ने अभियान सुरु गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगर ले जिल्लाभर सञ्चालनमा रहेका सवारी साधनमा राखिएका नदेखिने, खुइलिएका, मेटिएका तथा कानुनले तोकेको मापदण्डभन्दा साना वा ठूला नम्बर प्लेट हटाउने अभियान थालिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार कतिपय सवारी साधनमा नम्बर स्पष्ट नदेखिने गरी प्लेट राखिएको, केहीमा अक्षर तथा अंक मेटिएको र केहीमा मनोमानी ढंगले साइज परिवर्तन गरिएको पाइएकाले ट्राफिक व्यवस्थापन तथा सुरक्षा चुनौती बढेको छ ।
प्रहरी निरीक्षक मगरले कानुनविपरीतका नम्बर प्लेटका कारण सवारी साधन पहिचान गर्न समस्या हुने, दुर्घटना तथा आपराधिक घटनाको अनुसन्धानमा कठिनाइ हुने भएकाले अभियान प्रभावकारी रूपमा अघि बढाइएको बताउनुभयो ।
अभियानअन्तर्गत ट्राफिक प्रहरीले विभिन्न स्थानमा चेकजाँच तीव्र बनाएको छ । मापदण्डविपरीत नम्बर प्लेट भएका सवारी साधनलाई आवश्यक निर्देशन दिइनुका साथै कानुनअनुसार कारबाहीसमेत गरिने कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरीले सबै सवारीधनीलाई तोकिएको मापदण्डअनुसार स्पष्ट देखिने नम्बर प्लेट प्रयोग गर्न आग्रह गरेको छ ।








